बाढी पहिरो: १४८ जनाको मृत्यु हुँदा ५५ बेपत्ता, १६ वटा पुल बग्यो



काठमाडौं । बाढी पहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ । विपद्मा परि ५५ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् ।

बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौंमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनकानुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए । यसैगरी बाढीपहिराले तीन सय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।


क्लिकमान्डु