एक साताको विवादपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गर्दै डोनल्ड ट्रम्प



एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति एवं आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका डोनल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्दैछन् । यही शुक्रबार न्युयोर्कस्थित ट्रम्प टावरमा उनीहरुको भेटवार्ता तय भएको ट्रम्पले बताएका छन् ।

ट्रम्प राष्ट्रपति पदबाट बाहिरिएपछि र युक्रेनमा युद्ध सुरु भएपछि दुई नेताको पहिलो पटक भेटवार्ता हुन लागेको हो । र एक सातासम्म आरोप प्रत्यारोपपछि दुई नेताहरुबीच भेटवार्ता तय भएको हो । स्थानीय समय अनुसार बिहान ९:४५ तिर उनीहरुको भेट हुने पनि ट्रम्पले जानकारी दिएका छन् ।

ट्रम्पले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्कीसँग संवाद गरेर आफूले युक्रेन युद्धलाई चाँडै समाप्त गर्न सहमति गराउन सक्ने दाबी गरेका थिए । यद्यपि उनले सम्झौता कस्तो हुनेछ भनेर विस्तृतमा खुलाएका छैनन् । यस्तै उनले रुस र युक्रेन दुबै देशका नेताहरुसँग आफ्नो राम्रो सम्बन्ध रहेको पनि दाबी गरेका थिए ।

जवकि ट्रम्प र जेलेन्स्की यसअघि आपसी विवादमा अल्झिरहेका थिए । दुबैले एकअर्काको आलोचना गरिरहेका थिए । जेलेन्स्कीले यसअघि भनेका थिए, ‘ट्रम्पले आफूलाई थाहा छ भने पनि उनलाई वास्तवमै थाहा छैन कि युद्ध कसरी समाप्त हुन्छ भनेर ।’

यस्तै ट्रम्पले जेलेन्स्कीको टिप्पणीबारे ठट्टा गर्दै जवाफ दिएका थिए, ‘जेलेन्स्कीले युद्ध कसरी अन्त्य गर्नुपर्छ भन्ने थाहा पाउनु अगाडि नै आगामी बैठक तुरुन्तै रद्द गर्नुपर्छ ।’

ट्रम्पले यसअघि पनि पटक पटक युक्रेन युद्धमा युक्रेनलाई उक्साउन नहुने भन्दै राष्ट्रपति जो बाइडेनको आलोचना गर्दै आएका थिए । र युक्रेन युद्धबाट युरोपलाई भन्दा अमेरिकालाई धेरै नोक्सान हुने उनको दाबी थियो । साथै युद्धमा युक्रेनलाई अमेरिकाले गरेको सहयोगप्रति पनि ट्रम्पले आलोचना गर्दै आएका छन् ।

यसैबीच रुसविरुद्ध युद्धको क्रममा युक्रेनलाई ८ अर्ब डलर सहयोग गर्ने जो बाइडेनको प्रतिबद्धतापछि जेलेन्स्कीले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससँग भेटवार्ता गरेका थिए । ट्रम्पले भने जेलेन्स्कीसँगको आसन्न भेटवार्तामा युद्ध अन्त्यको प्रस्ताव गर्ने वा नगर्ने भन्ने विषयको योजनाबारे केही प्रतिक्रिया दिएका छैनन् ।


क्लिकमान्डु