युद्धसँगै रुसमा चिनियाँ गाडीको निर्यात बढ्यो, चीनले कुन देशमा कति गाडी निर्यात गर्छ ? (सूची)



एजेन्सी । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनले पछिल्लो समय तीब्र रुपमा कार उत्पादन गर्दै आएको छ । विशेषगरी विद्युती सवारीको बजारमा चीनले जबर्जस्त रुपमा प्रभाव जमाउन थालेको छ ।

२०२४ को तथ्यांक हेर्ने हो भने अगस्ट महिनामा मात्रै चीनले अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले व्यापार बढाउँदै ६ लाख १० हजार सवारीसाधन निर्यात गरेको छ । मासिक रुपमा १० प्रतिशतले निर्यात बढाएको छ ।

जनवरीदेखि अगस्टसम्म जम्मा ४० लाख ९० हजार सवारी निर्यात गरेको छ । जुन तथ्यांकले चीनको २७ प्रतिशत वृद्धिदर देखाउँछ । यसरी हेर्दा चीनले सबैभन्दा धेरै सवारी रुसमा निर्यात गरेको छ । त्यसपछि मेक्सिको, युएई र ब्राजिलमा सवारी निर्यात गरेको देखिन्छ ।

पछिल्लो ८ महिनामा चीनबाट सबैभन्दा धेरै सवारी निर्यात भएका १० देशहरु

रुस: ७ लाख ५ हजार ५१४
मेक्सिको: ३ लाख २३ हजार ५४०
युएई: २ लाख ३ हजार ४८
ब्राजिल: १ लाख ९२ हजार २५४
बेल्जियम: १ लाख ८२ हजार ५०४
साउदी अरेबिया: १ लाख ६१ हजार २६१
युके: १ लाख ३७ हजार ९२५
अस्ट्रेलिया: १ लाख १८ हजार ८८८
फिलिपिन्स: १ लाख ४ हजार ४०२
टर्की: ९५ हजार ६५०

रुसमा चीनको निर्यातको अवस्था हेर्दा १९ प्रतिशतले वृद्धि गरेको छ । जसबाट चीनले १ अर्ब ६० करोड अमेरिकी डलर आम्दानी गरेको छ ।

युक्रेन युद्धसँगै रुसमा आउने विदेशी अटो ब्रान्डहरु रोकिएको अवस्थामा चीनले आफ्नो बजार बढाएको बताइन्छ । २०२२ मा भने चीनले रुसमा १ लाख ६० हजार सवारी निर्यात गरेको थियो । जवकि २०२३ मा निर्यात बढाएर चीनले ९ लाख १० हजार पुर्‍याएको थियो । जसमा वार्षिक रुपमा ४५९ निर्यात वद्धि गरेको देखिन्छ ।

यसैबीच इलेक्ट्रिक भिहिकलको निर्यातमा पनि चीनले उल्लेख्य वृद्धि गरेको छ । जसअनुसार ईभी निर्यात भने सबैभन्दा धेरै बेल्जियममा गरेको छ । जनवरीदेखि अगस्टसम्मको अवधिमा बेल्जियममा मात्रै चीनले १ लाख ७० हजार ८७६ ईभी निर्यत गरेको । दोस्रो स्थानमा ब्राजिल रहेको छ । जहाँ चीनले १ लाख ३२ हजार ११२ युनिट ईभी निर्यात गरेको छ ।

यसैगरी सोही ८ महिनाको अवधिमा बेलायतमा चीनले ८८ हजार ९३३ ईभी निर्यात गरेको छ । यस्तै थाइल्यान्डमा भने ८१ हजार ५४६ ईभी निर्यात गरेको छ ।

युरोपीयन देशहरुमा महंगो भन्सार लगायतका कारण चीनको अटो व्यापार अवरुद्ध भएको थियो । तैपनि २०२४ को ८ महिनामा उसले २५ प्रतिशत निर्यात वृद्धि गर्दै व्यापार सुधारेको छ । अगस्टमा मात्रै चीनको ईभीको निर्यात १ लाख ८० हजार छ । जुन वार्षिक रुपमा २०.९ प्रतिशतले वृद्धि हो । र मासिक रुपमा २.९ प्रतिशतले वृद्धि हो ।

चीनले जनवरीदेखि अगस्टसम्म सबैभन्दा धेरै ईभी निर्यात गरेका १० वटा देशहरु

बेल्जियम: १ लाख ७० हजार ८७६
ब्राजिल: १ लाख ३६ हजार ११२
बेलायत: ८८ हजार ९३३
थाइल्यान्ड: ८१ हजार ५४६
फिलिपिन्स: ६९ हजार ९८७
मेक्सिको: ६१ हजार ६४७
भारत: ५३ हजार ७३८
अस्ट्रेलिया: ५१ हजार ८४३
यूएई: ४७ हजार ७१६
जर्मनी: ४१ हजार १०५

यसरी पछिल्लो ८ महिनाको व्यापार हेर्दा चीनले ब्राजिल, बेल्जियम, इन्डोनेसिया र मेक्सिकोमा आफ्नो ईभी निर्यात बढाएको छ । तर स्पेन, थाइल्यान्ड, नेदरलेयान्ड्स, अस्ट्रेलिया र स्लोभानियामा चिनियाँ ईभीको बजार घटेको देखिन्छ ।

ईभीको बजार हेर्दा प्रारम्भिक चरणमा अमेरिकी ब्रान्ड टेस्लाले व्यापार विस्तार गरेको देखिए पनि पछिल्लो समय चिनियाँ ब्रान्ड बीवाईडी लगायत ईभीले विश्व बजारमा जबर्जस्त प्रभाव जमाइरहेका छन् ।

त्यसो त अमेरिकी कम्पनी टेस्लालाई चीनले भित्र्याएको छ । तर अमेरिकासहित युरोपका अधिकांश देशहरुले लगाएको महंगो भन्सार शुल्क र नीतिगत अवरोधले युरोपको बजारमा चीनका लागि थप कठिन बन्ने देखिन्छ ।

नेपालको बजार हेर्ने हो भने पछिल्लो समय चिनियाँ सवारीको आयात उल्लेख बढेको छ । एकै महिनामा १६ सय वटा विदेशी ईभी नेपाल भित्रिँदा १२ सय ईभी चीनबाट मात्रै आएका छन् । यसले के देखाउँछ भने नेपालले आयात गर्ने समग्र ईभीमध्ये झण्डै ८० प्रतिशत ईभी चीनबाटै आउने गरेको छ ।


क्लिकमान्डु