एनसेल फाउन्डेसनद्वारा झापामा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ



काठमाडौं । एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिका, वडा नं. ५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ ।

यस निःशुल्क शिविरमा १२० जना भन्दा बढी स्थानिय महिलाहरुको सहभागिता थियो भने त्यसमध्ये ९० जना भन्दा बढिले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका थिए । नेपाल क्यान्सर फाउन्डेसन र पुर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले आयोजना गरिएको यो पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर एक कोशेढुङ्गा सावित भएको छ ।

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरु मध्ये पहिलो स्थानमा पर्दछ । सन् २०२२ मा मात्रै २,१६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाईएको थियो भने यस रोगको कारण १,३१३ जनाले आफ्नो ज्यान गुमाएका थिए ।

शिविरमा आएकी बिर्तामोड नगरपालिका, वडा नं. ५ की शोभा ठाकुरले भनिन्, ‘यहाँ पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङको लागि शिविर बस्दै छ भनेर थाहा पाएर साथीहरु पनि लिएर आएँ । आफ्नो स्वास्थ्यको कुरा खुलेर भन्न नसक्दा मेरो सासु ब्रेस्ट क्यान्सर भएको तेस्रो स्टेजमा मात्र थाहा भएकोले बित्नु भयो । आफ्नो स्वास्थ्य छ त छोरा, छोरी संसार सबै हुन्छ ।’

त्यसैगरी बेलबारी–५, मोरङबाट शिविरमा आएकी टिका गौतम कोइरालाले भनिन्, ‘यो जीवन लिने डर लाग्दो रोग रहेछ । यसलाई समयमा नै उपचार गर्यो भने बाँच्न सकिन्छ त्यसैले मौका पाएकीले यहाँ शिविरमा आएकी हुँ । सचेत हुन पाईयो भने यो रोगबाट मुक्त हुन पाइन्छ त्यसैले यो स्क्रिनिङ टेस्ट एकदमै जरुरी छ ।’

यो शिविरले महिलाहरुलाई स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरु लिनुको महत्वलाई उजागर गर्दै पाठेघरको मुखको क्यान्सरबाट बच्न प्रारम्भिक पहिचान र रोकथामको लागि नियमित स्क्रिनिङ र सम्बन्धित परिक्षणहरु गर्न प्रोत्साहन गरेको छ । एनसेल फाउन्डेसनले कोशी प्रदेशमा ६,००० भन्दा बढी महिलाहरुको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ ।

‘हाम्रो यो स्क्रिनिङ पहुँच नभएकाहरूसम्म पुग्ने लक्ष्यमा आधारित छ । अधिकांश मृत्यु पाठेघरको मुखको क्यान्सर रोकथाम, स्क्रिनिङ र उपचारमा अपर्याप्त पहुँचका कारण कम र निम्न मध्यम आय भएका महिलाहरूमा भएका छन् । पाठेघरको मुखको क्यान्सर सबैभन्दा सामान्य र नेपाली महिलाहरुको मृत्युको प्रमुख कारण रहेको तथ्याङ्कले देखाउँछ । ८० प्रतिशत भन्दा बढि पाठेघरको मुखको क्यान्सरका रोगीहरुले अन्तिममा आएर मात्र रोग लागेको थाहा पाउँछन् । कोशी प्रदेशमा सुरु भएको यस पाइलट प्रोजेक्टको सफलता पछि आगामी दिनमा यस किसिमका पहलहरु अन्य प्रदेशमा पनि विस्तार गर्ने छौं’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।

एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको घोषणा गरेको थियो र फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु गर्ने योजना बनाएको छ । एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सामाजिक परियोजनाहरुको कार्यन्वयन लागि २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ ।


क्लिकमान्डु