सागसब्जी बेचेर दैनिक १० हजार कमाउँछन् २३ वर्षीय मुकुन्द



डोटी । रोजगारीको खोजीमा युवा बिदेसिनेक्रम बढ्दो छ । भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा बिदेसिने गरेका छन् ।

हजारौँ युवाको भन्दा अलग सपना थिएन यहाँको आदर्श गाउँपालिका-१ का २३ वर्षीय मुकुन्द अवस्थीको पनि । तीन वर्षे कृषि विज्ञान (आईसीएजी) अध्ययन सकेर कृषिमा राम्रो कमाइ हुने देश जाने उनको चाहना थियो । विदेश जाने योजना स्थगित गरेर गाउँमै व्यावसायिक सागसब्जी खेती गरेका मुकुन्दले सन्तोषजनक कमाइ गरिरहेका छन् ।

‘अहिलेको ‘ट्रेन्ड’ भनौँ वा बाध्यता सबै बिदेसिने लहर छ, बाहिर जानुपर्छ राम्रो कमाउनुपर्छ भन्ने मेरो पनि सोच थियो । कोरिया वा इजरायल जानुपर्छ भन्ने योजना बनाइसकेको थिएँ तर लकडाउन भएपछि घर आएँ र बाँझो जमिनमा खेती गर्न थाले’, मुकुन्दले सुरुवाती दिन स्मरण गरे ।

हाल मुकुन्दले करिब १२ रोपनी जमिनमा सागसब्जी लगाइरहेका छन् । उनले दाजुभाइ बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर २५ ‘प्लास्टिक टनेल’ बनाएर सागसब्जी लगाएका छन् । सबै टनेलमा अहिले गोलभेँडा फलिरहेका छन् ।

सुरुवातमा गाउँपालिकाबाट प्राप्त एक लाख ५० हजार रूपैयाँ अनुदान र बाँकी आफ्नो लगानीमा दशवटा टनेलबाट सागसब्जी उत्पादन सुरु गरे । गतवर्ष दशवटा टनेलबाट करिब नौ लाख बराबरको सागसब्जी बिक्री गरेको उनले जानकारी दिए ।

पहिलो वर्ष लगानी धेरै लागेकोले खर्च कटाएर करिब तीन लाख रूपैयाँजति आम्दानी भएको थियो । यो वर्ष २५ वटा टनेलमा सागसब्जी लगाएकोले कारोबार दोबरले बढ्ने उनको अनुमान छ ।

मुकुन्दले हाल दैनिक आठदेखि १० ‘क्रेट’ गोलभेँडा बजार लैजाने गरेका छन् । प्रतिकिलो ५० रूपैयाँका दरले गोलभेँडा बजारमा बिक्री हुँदा उनको दैनिक आठदेखि १० हजार कमाइ हुन्छ ।

गोलभेँडाले सजिलै बजार पाएको छ । मुकुन्दले भने, ‘डोटी जिल्ला तरकारीमा परनिर्भर थियो सुरुमा उत्पादित सागसब्जी बिक्री गर्न धेरै मेहनत गर्नुपर्‍यो तर अहिले माग धान्न सकिरहेको छैन, दैनिक डेढदेखि दुई क्वीन्टल बजारमा जान्छ । मूल्य पनि राम्रो छ।’

उनले सागसब्जीमा ‘मल्चिङ’ र थोपा सिँचाइ प्रविधिको प्रयोग गरेका छन् । स्वच्छ तरकारी उत्पादन गर्न कम्पोस्ट मलको प्रयोग गरिएको छ । घरमा भएका भैँसी, बाख्रा, गाई, गोरुको मलमूत्रबाट बन्ने मल पर्याप्त छ । थप गँड्यौला मलको उत्पादन सुरु गर्ने तयारी गरिरहेको उनले बताए ।

मुकुन्दले थालेको कृषिबाट परिवार मात्रै आत्मनिर्भर भएको छैन । पाँचजनाले रोजगारीसमेत पाएका छन् । यो वर्ष टनेलको सङ्ख्या थप गरेर ५० ओटा पुर्‍याउने योजना उनको छ ।

तर उत्पादित सागसब्जी बजार पुर्‍याउन भने समस्या छ । दिपायल बजारसम्म पुग्ने बाटो कच्ची हुँदा बेलाबेला अवरुद्ध हुने गर्छ । त्यसो हुँदा पिठ्यूँमा बोकेर बजार पुर्‍याउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

बृहत् तरकारी उत्पादन क्षेत्र कार्यक्रम अनुसार थोपा सिँचाइ, पानी ट्यांकी निर्माण, प्लास्टिक घर र गँड्यौला मलको उत्पादन सहयोग गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गंगा अवस्थीले बताइन् । छोटो समयमै सफल कृषक बनेका मुकुन्द युवाका लागि प्रेरणादायी व्यक्ति रहेको अवस्थीले बताइन् । रासस


क्लिकमान्डु