पानीको मूल्य १ सय लिएपछि जिम्बु थकालीलाई ३ लाख जरिवाना



काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौं शान्ति नगरस्थित जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

अंकित मूल्यभन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।

जिम्बु थकालीले उपभोक्ताहरुलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेण्टमा अनुगमन गरेको हो ।

महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए ।

उनले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताए ।

रेष्टुरेण्टले अब पनि अंकित मूल्य भन्दा बढीमा पानी लगायतका कुनैपनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने उनले बताए ।

‘जिम्बु थकाली रेष्टुरेण्टमा पानीको धेरै मूल्य लिएको गुनासो आयो । के रहेछ भनेर आफैँ खाना खान भनेर आएका थियौं । हामी रेष्टुरेण्टमा आयौं । पानी मागिएको थिएन । पानी ल्याएर दिनुभयो । पानी र खाजा मःमः खाऔं । एक बोतल पानीको अंकित मूल्य ३५ रुपैयाँ छ । ३५ रुपैयाँ अंकित मूल्य भएको पानीलाई १०० रुपैयाँ लिनुभएको रहेछ । कुनैपनि उपभोक्तालाई लेभल गरिएको हुन्छ । त्यसमा तोकेको भन्दा बढी मूल्य लिन पाइँदैन । खुद्रा मूल्य भन्दा दोब्बर शुल्क लिएको पाइयो । बढी मूल्य लिएको आधारमा वाणिज्यले कारबाही गर्छ । वाणिज्य विभागको प्रमुख ठगीमा परे । यो एउटा उदाहरण मात्रै हो । उहाँहरुले विल लिनुपर्छ । विल लिएर विभागमा उजुरी गरे कानून अनुसार कारबाही गर्छौं,’ उनले भने ।

चाडपर्व लक्षित बजारमा ७ वटा टोली खटाएको उनले बताए । भोलिदेखि अझ बढी टोली परिचालन गर्ने उनले बताए ।


क्लिकमान्डु