यूएन महासभामा भाग लिइरहेका प्रधानमन्त्रीलाई रविको चेतावनी: न्युयोर्कबाट आँखा नसन्काउनुस् !



काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले अमेरिकाबाट आँखा नसन्काउन चेतावनी दिएका छन् ।

लामिछानेले आइतबार राति पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गरेपछि राति नै सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीतर्फ कटाक्ष गरेका हुन् ।

नेता लामिछानेले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस् बसेर कुरा गरौं । सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु । बिचौलियाको घर चाहिन्न।’

नेता लामिछानेले यस्तो टिप्पणी गरिरहँदा प्रधानमन्त्री केपी ओलीले भने संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता गरिरहेका छन् ।

राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसले महासभाको समिट अफ द फ्युचरलाई सम्बोधन गरिरहँदा प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डलले महासभामा भाग लिएका थिए । प्रधानमन्त्री ओलीले भने आइतबार नै महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले पक्राउ गर्न खोजेपछि लामिछानेसहित रास्वपाका नेताहरु पार्टी कार्यालयमा भेला भएर नाराबाजी गरेका थिए । लामिछानेसहित केही शीर्ष नेताहरुले भाषण गरेका थिए भने उनका समर्थक तथा कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।

सहकारी ठगी बारे संसदीय विशेष छानबिन समितिले लामिछानेसहितका व्यक्तिहरुमाथि कारबाहीको सिफारिस गरेको थियो । सोही प्रतिबेदनका आधारमा सरकारले छानबिनको प्रयास गरिरहेको छ । गोरखा मिडियामा सहकारीको रकम ल्याएर अपचलन गर्ने प्रकरणमा संलग्न तथा लामिछानेका साझेदार छविलाल जोशीलाई भने प्रहरीले आइतबार पक्राउ गरिसकेको छ ।


क्लिकमान्डु