मेरो नाममा पक्राउ पुर्जी जारी भएको छैन, तर ढुक्क हुने स्थिति छैन: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेसम्म आफ्नो नाममा पक्राउ पुर्जी जारी नभएको भए पनि ढुक्क हुने स्थिति नभएको बताएका छन् ।

गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार दिउसो पक्राउ परेपछि तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि पक्राउ पर्न सक्ने भन्दै पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले चनाखो रहन आग्रह गरेका छन् । लामिछानेले आफूलाई निरन्तर खेद्ने र लखेट्ने कोसिस भइरहेको बताएका छन् ।

करिब ४ घण्टा पार्टी नेताहरुसँग छलफल गरेपछि लामिछानेले राति १० बजेतिर कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

आफूलाई सहकारी ठगी प्रकरणमा संलग्न नरहेको भनी छानबिन समितिले प्रतिवेदन दिए पनि सरकारले ‘ट्रायल’ गर्न खोजेको आरोप लामिछानेको छ ।

‘मैले बुझेअनुसार अहिलेसम्म मेरो नाममा पक्राउ पुर्जी जारी भएको छैन, तर ढुक्क हुने स्थिति छैन,’ उनले भने, ‘सरकार ट्रायल गर्न खोजिरहेको छ । अनुसन्धानको कुन कसीमा उभिनुपर्छ, कहाँ सघाउनुपर्छ म तयार छु, तर एउटा मानिसलाई जसरी निरन्तर लखेट्ने र खेद्ने काम भइरहेको छ, त्यसको प्रतिवाद हुन्छ।’

नयाँ आउँदै गरेको दलसँग वर्तमान सरकार डराएको नसुहाएको उनले बताए ।

‘सरकार अधिनायकवादतिर जाँदै छ कि भन्ने संकेत छ,’ उनले भने, ‘ हिजो पनि अन्याको शिकार भएको हुँ र आज पनि निरन्तरको घेराबन्दीमा छु ।’

कानुनी नैतिक र राजनीतिक रुपमा जुनसुकै ठाउँमा पनि सत्यको लागि लड्न तयार रहेको भन्दै लामिछानेले भने, ‘षड्यन्त्र गरेर समात्ने होइन, जसलाई राजनीति जोगाउन मन छ उसले चुनावमा लड्नु ।’


क्लिकमान्डु