इरानको कोइला खानीमा विस्फोट हुँदा ५१ कामदारको मृत्यु



एजेन्सी । इरानको पूर्वी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास लिक भएर विस्फोट हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । २० जनाभन्दा धेरै घाइते भएका छन् । राजधानी तेहरानबाट ५४० किमी दक्षिणपूर्वी क्षेत्र खोरसन प्रान्तमा रहेको ताबासमा यस्तो घटना भएको हो ।

इरानको सरकारी मिडियाका अनुसार कोइला खानीको दुईवटा ब्लकमा मिथेन ग्यास लिक भएर विस्फोट भएको थियो । खोरसन प्रान्तका गभर्नर जभाद घेनातजादेहले विस्फोटको समयमा खानीमा ६९ जना कामदारले काम गरिरहेको जानकारी दिएका छन् ।

एपी न्युजका अनुसार मादानजु खानीको दुईवटा ब्लकमा विस्फोटको समयमा ६९ जना कामदार कार्यरत थिए । जसमध्ये बी ब्लकमा ४७ जना र सी ब्लकमा २२ जना काम गरिरहेका थिए । तर दुर्घटनामा कति मानिस जीवित छन् भन्नेबारे यकिन भइसकेको छैन । स्थानीय मिडियाका अनुसार केही कामदारहरु खानीभित्रै च्यापिएर अड्किएको हुनसक्ने पनि बताएका छन् ।

दुर्घटनामा कम्तीमा २४ जना कामदार हराइरहेको स्थानीय टेलिभिजनले जनाएका छन् । दुर्घटनापछि राष्ट्रपति मसुद पेजेशखिनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । दुर्घटना भएको खानीले ३० हजार वर्ग किमी क्षेत्रफल ओगटेको छ । जुन देशकै सबैभन्दा ठूलो कोइला खानीको रुपमा चिनिन्छ ।


क्लिकमान्डु