रविले आफ्ना ससूराको कम्पनीलाई पनि दिएका थिए सहकारीको ८१ लाख २५ हजार



काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने गोरखा मिडियामा प्रबन्ध निर्देशक रहेका बेला उनका ससूरा उद्धव पौडेलको कम्पनी गोपिकृष्ण मुभिज प्रालिमा पेस्कीको रुपमा ८१ लाख २५ हजार रुपैयाँ रकम प्रवाह भएको खुलासा भएको छ ।

सहकारी ठगी सम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिबेदनमा उद्धव पौडेलको कम्पनीमा रवि लामिछानेको तजबिजीमा रकम दिएको देखिएको हो । उद्धव रविकी पत्नी निकिता पौडेलका बाबु हुन् । जसले गोपीकृष्ण मुभिज चलाउँदै आएका छन् ।

यस्तै लामिछाने गोरखा मिडियामा प्रबन्ध निर्देशक रहँदा उनकै तजबिजीमा सहकारीबाट आएको ६५ करोड रकम हिनामिना भएको देखिएको छ ।

यसबारे लामिछानेले भने समितिको बयानमा गोपीकृष्ण मुभिमा गएको पेस्की रकमबारे स्विकार गरेका छन् । उनले गोपीकृष्ण मुभीको रेडियो खरिदका लागि रकम दिएको बयानमा बताएका छन् ।

‘गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/७८ मा गोपीकृष्ण मुभिज प्रालिलाई २५ लाख पेस्की दिएको र आर्थिक वर्ष २०७८/७९ मा थप ६६ लाख २५ हजार गरी जम्मा ८१ लाख २५ हजार रुपैयाँ पेस्की फर्छ्यौट हुन बाँकी देखिन्छ‚’ प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेसहित जीबी राई, छविलाल जोशी र कुमार रम्तेल चार जनाले सहकारीको रकम गोरखा मिडियामा ल्याएर अनियमितता गरेको भन्दै संसदीय छानबिन समितिले उनीहरुमाथि कारबाहीको लागि सिफारिस गरिसकेको छ । समितिले शुक्रबार प्रतिबेदनको पूर्ण पृष्ठ संसद सचिवालयलाई बुझाएको छ ।


क्लिकमान्डु