सर्वाधिक धनी रुसी अर्बपति महिलाको दम्पत्ति झगडा: जसले गोलीकाण्ड नै निम्त्यायो



रुसको सबैभन्दा धनी महिला तथा फोर्ब्सको डलर अर्बपति सूचीमा रहेकी रुसी उद्यमी तात्याना र उनका श्रीमान भ्लादिस्लाभको डिभोर्स र झगडासँगै गोलीकाण्ड नै भयो । कार्यालयमै गोली प्रहारबाट २ जनाको मृत्यु भयो । गोलीकाण्डपछि तात्यानाले भने रुँदै भिडियो बनाएर सोसल मिडियामा सेयर गरिन् । रुसको यो अर्बपति जोडीको विवाद के हो ? को हुन् तात्याना ?

एजेन्सी । रुसमा साता गोली प्रहारबाट दुई जना व्यक्तिको हत्या गरेको अभियोगमा भ्लादिस्लाभ बाकालचुक पक्राउ परे । भ्लादिस्लाभ रुसको सर्वाधिक धनी महिला तात्याना बाकालचुकका पति हुन् । र यो गोलीकाण्ड अन्यत्र कतै नभएर उनकै कम्पनी वाइल्डबेरीमा भएको थियो ।

रुसको सबैभन्दा ठूलो अनलाइन रिटेलर वाइल्डबेरीमा भ्लादिस्लाभले अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले बताएको छ । मस्कोस्थित कार्यालयमा बुधबार गोलीकाण्डको क्रममा दुई जना मारिएका थिए । प्रहरी अधिकृतसहित अरु केही मानिस घाइते भएका छन् ।

यो गोलीकाण्डले यी धनाढ्य दम्पत्तिबीचको विवाद, तनाब र आन्तरिक कलहलाई पनि छताछुल्ल पारिदिएको छ । गत जुलाइमा सम्बन्ध बिच्छेदको लागि निवेदन दिएका भ्लादिस्लाभ र उनकी पत्नी तात्यानाबीचको तनाब र झगडा यही गोलीकाण्डले सार्वजनिक गरिदियो । यसलाई लिएर आम मानिसहरुले पनि टिकाटिप्पणी गर्न थालेका छन् ।

विशेषगरी गत जुनमा तात्यानाले सञ्चालन गर्दैआएको कम्पनी वाइल्डबेरीले आउटडोर विज्ञापन फर्म रस समूहसँग मर्ज गर्ने घोषणापछि उनीहरुबीच विवाद बाहिर आएको थियो । तर पछिल्लो गोलीकाण्डले उनीहरुको झगडालाई आगोमा घ्यु थप्ने काम गरेको छ ।

तात्यानाले रुसमा २००४ मा अमेजनविरुद्ध प्रतिस्पर्धाको रुपमा वाइल्डबेरी गरेकी थिइन् । जुन कम्पनी अनलाइन कपडा विक्रेताबाट हाल सबै सामानहरु विक्री गर्ने सबैभन्दा ठूलो रुसी कम्पनी बनेको छ । यससँगै तात्याना रुसमा सबैभन्दा धनाढ्य महिलाको रुपमा परिचित छिन् ।

बुधबारको गोलीकाण्डलाई लिएर उनीहरु दुबैले एकअर्कालाई आरोप लगाइरहेका छन् । भ्लादिस्लाभले आफू पूर्वनियोजित भेटका लागि कार्यालयमा पुग्दा त्यहाँका कर्मचारीहरुले सुरुमा गोली चलाएको दाबी गरिरहेका छन् । तर तात्यानाले उनका पति भ्लादिस्लाभ र उनका साथीहरुले कार्यालय बन्द गर्न खोजेपछि झगडा भएको बताएकी छन् । साथै त्यहाँ पूर्वनिर्धारित भेटघाटको कार्यक्रम पनि नभएको तात्यानाको भनाइ छ ।

भ्लादिस्लाभका वकिलले भने भ्लादिस्लाभ अनाहकमा पक्राउ परेको भन्दै ग्राहकको अधिकार उल्लङ्घन भएको जिकिर गरेका छन् । यो जोडीको विवादको केन्द्रमा मुख्यतया वाइल्डबेरीको मर्जर नै जोडिएको छ । यससँगै रोबर्ट मिर्जोयानका सीईओसँग मिलेर नयाँ कम्पनी गठन गरिएको थियो । यो निर्णयले वाइल्डबेरीमा तात्यानाको ९९ प्रतिशत हिस्सेदारीबाट घटेर ६५ प्रतिशतमा झारिदिएको छ ।

भ्लादिस्लाभले भने आफ्नी पत्नी अरुबाट सञ्चालित भएको आरोप लगाएका छन् । दम्पत्तिको विवादका बीच चेचेनका नेता रामजान क्यादिरोभले पनि भ्लादिस्लाभलाई साथ दिएका छन् । रामजानले उक्त मर्जरलाई सम्पत्ति कब्जाको संज्ञा दिँदै विवादमा भ्लादिस्लाभलाई समर्थन गरेका छन् ।

तात्यानाले भने दुबैको आरोप अस्विकार गरेकी छन् । यससँगै क्रेमलिनका अधिकारीहरुले भने उनीहरुको विवादमा कुनै हस्तक्षेप नगर्ने जनाएको छ । यसबीचमा तात्यानाले रुँदै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै आफ्ना पति भ्लादिस्लाभलाई सोधेकी छन्, ‘भ्लादिस्लाभ तिमी के गर्दैछौ ? तिमी आफ्नो आमाबाबु र हाम्रा बच्चाहरूको आँखामा कसरी हेर्छौ ? तिमीले यस्तो मूर्खतापूर्ण अवस्था कसरी ल्यायौ ?’

तात्याना र उनका पतिबीचको यो विवादले रुसमा १९९० को दशकको झल्को दिएको टिप्पणी गर्न थालिएको छ । जतिबेला घातक कर्पोरेट टर्फ लडाईहरू सामान्य मानिन्थ्यो । किनकि सोभियत संघको पतनपछि सम्पत्तिको ठूलो भागलाई पुनर्वितरण गरिएको थियो ।

को हुन् तात्याना बाकालचुक ?

४९ वर्षीया तात्याना बाकालचुक वाइल्डबेरीको सीईओसँगै रुसी अर्बपति हुन् । २०२४ मा फोर्ब्सले सार्वजनिक गरेको डलर अर्बपतिहरुको सूचीमा परेकी उनी ७ अर्ब ४० करोड अमेरिकी डलरको मालिक हुन् ।

कोर्यो साराम परिवारमा उनी जन्मिएकी थिइन् । जुन समुदाय पूर्वी रुसमा बसोबास गर्ने आदिवासी समुदायको रुपमा चिनिन्छ । रुस आर्थिक संकटको मारमा परिरहेका बेला १९९८ मा अंग्रेजी शिक्षिकाको रुपमा करिअर सुरु गरेकी उनले २००० मा भ्लादिस्लाभलाई भेटेकी थिइन् ।

भ्लादिस्लाभ त्यसबेला एक युवा उद्यमी थिए । २००४ मा एक सन्तान जन्माएपछि तात्यानाले वाइल्डबेरी स्थापना गरिन् । यसका लागि उनले पतिको साथ र सहयोगमा कम्पनी स्थापना गरेकी थिइन् ।

सुरुका दिनमा वाइल्डबेरीले विदेशीसहित अरु कम्पनीका उत्पादन विक्री गर्थ्यो । विशेषगरी कपडाहरु विक्री गर्ने वाइल्डबेरी पछिल्लो समय सबै सामान विक्री गर्ने कम्पनीको रुपमा चिनिएको छ । अनलाइनको माध्यमबाट व्यापार गर्ने यो कम्पनी हाल युरोपमा पनि लोकप्रिय छ ।

पछिल्लो समय कम्पनीलाई मर्ज गर्ने विषयमा दम्पत्तिको विवादसँगै सम्बन्ध बिच्छेदको विषयले पनि चर्चा पाएको छ । उनीहरुको विवादलाई आम रुपमा टिप्पणी गर्न थालिएको छ ।

फोर्ब्सले सूचीकृत गरेका रुसका दुई मात्रै डलर अर्बपति महिलाहरुमा तात्याना एक हुन् । २०२१ को डिसेम्बरमा फोर्ब्सले तात्यानाको नाम सूचीकृत गरेको थियो ।

त्यसबेला उनको व्यवसाय १००० प्रतिशतले अगाडि बढेको थियो । तर २०१९ सम्म तात्याना कम्पनीको एक मात्र मालिक थिइन् । तर फेरि उनले आफ्ता पति भ्लादिस्लाभको नाममा १ प्रतिशत सेयरको हिस्सेदारी दिइन् । यसरी उनको परिवार रुसको सबैभन्दा धनी परिवारको रुपमा पनि फोर्ब्समा सूचीकृत भएको हो ।


क्लिकमान्डु