बाइडेन र कमलाको हत्या गर्न उक्साउने ट्विट एलन मस्कले हटाए
एलन मस्कले जो बाइडेन र कमला ह्यारिसको हत्या गर्न उक्साउने किसिमको ट्विट गरेका थिए । तर चौतर्फी आलोचना र विरोधपछि हटाउन बाध्य भए ।
एजेन्सी । अमेरिकी उद्यमी एलन मस्कले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति तथा राष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिसबारे गरेको ट्विट डिलिट गरेका छन् ।
डेमोक्रेट्सबाट राष्ट्रपति बनेका बाइडेन र आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट्सबाटै उम्मेदवार बनेकी कमला ह्यारिसमाथि मस्कले सामाजिक सञ्जाल एक्समा टिप्पणी गरेका थिए । कमला भने अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन् ।
बाइडेन र ह्यारिसको हत्याको विषयलाई लिएर टिप्पणी गरेपछि मस्कको चौतर्फी आलोचना भएको थियो । धेरैले उनले त्यस्तो टिप्पणी गरेकोमा आपत्ति जनाएका थिए ।
उनको टिप्पणीपछि सोमबार राति नै ट्विटरमा दक्षिण अफ्रिकामा जन्मिएका मस्कविरुद्ध’डिपोर्ट एलम मस्क’ ह्यासट्याग अभियान चलाइएको थियो । साथै थुप्रै सरकारी अधिकारीहरुले पनि गैरजिम्मेवार टिप्पणी गरेकोमा आपत्ति जनाएका थिए ।
मस्कले लेखेका थिए, ‘कसैले बाइडेन र कमलाको हत्या प्रयास गरिरहेको छैन’ । मस्कले इमोजीबाट आश्चर्यजनक भाव प्रकट गर्दै आइतबार यस्तो टिप्पणी गरेका हुन् । आइतबार पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या प्रयासको अभियोगमा एक जना पक्राउ परेपछि मस्कले बाइडेन र कमलाप्रति त्यस्तो टिप्पणी गरेका थिए ।
तर मस्कको यस्तो ट्विट आएपछि धेरैले आपत्ति जनाएका थिए । धेरैले आपत्ति जनाएपछि मस्कले आफ्नो ट्विट हटाएका हुन् । ट्विट हटाउँदै उनले त्यसलाई जोक गरेको प्रतिक्रिया पनि दिएका छन् ।
टेस्ला र स्पेस एक्सका मालिकसमेत रहेका मस्कले अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपतिका उम्मेदवार ट्रम्पको प्रसंशा गर्न थालेका छन् । जवकि उनी विगतमा वर्षौंदेखि नै डेमोक्रेट पार्टीको समर्थक रहँदै आएका थिए । तर ट्रम्प र यसअघि उम्मेदवार बनेका जो बाइडेनको प्रेसिडेन्सियल डिबेटपछि मस्क अचानक ट्रम्पको समर्थनमा खुलेर लागेका हुन् ।
व्यापार तथा राजनीतिक स्वतन्त्रता सम्बन्धी थुप्रै नीतिबीच एकरुपता नभए पनि ट्रम्प र मस्क केही महिनायता नजिकिएका छन् । मस्कले ट्रम्पको बाइडेनसँगको डिबेट ट्विटरमार्फत् लाइभ समेत गरेका थिए ।