३० भन्दा धेरै सुविधा थपिएको हुन्डाइको नयाँ क्रेटामा आकर्षण: ६१ युनिट डेलिभरी, कति भयो बुकिङ ?



काठमाडौं । नयाँ क्रेटामा ग्राहकहरुको आकर्षण बढेको छ ।

हुन्डाइको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अनुसार नयाँ क्रेटाको ६१ युनिट डेलिभरी भएको छ । १५० युनिट बुकिङ भएकाले कम्पनीले डेलिभरी गरिरहेको जनाएको छ ।

गत साउन तेस्रो सातादेखि नयाँ क्रेटाको बिक्री थालेको हो । कम्पनीले बिक्रीसँगै नयाँ क्रेटामा सोधीखोजी गर्नेहरु समेत बढेको दाबी गरेको छ । लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको हो ।

कम्पनीका अनुसार आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, कठिन भूभागमा पनि सजिलै गुड्नसक्ने साथै सबै उमेरका चालकलाई सुहाउने भएकोले यो कार धेरैको रोजाइमा पर्ने गरेको छ । मिड साइज एसयूभी सेगमेन्टमा सफल हुँदै क्रेटाले एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको दाबी छ ।

नयाँ क्रेटामा के के छन् फिचर ?

नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरु रहेका छन् । नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्‍विलहरू पनि छन् ।

त्यसैगरी, पछाडि भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रिडिजाइन गरिएको बम्पर समावेश छ । गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णतया नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ ।

यसमा दुबै स्कुन समान १०/२५ इन्चका छन् । स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन् । जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास कम्पनीको छ ।

कम्पनीका अनुसार नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ । यसमा रहेको ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड  स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेशर मोनिटरिङ सिस्टम (हाईलाइन)ले चालक सुरक्षाको प्रत्याभुति गराउँछ ।

एडास फिचर अन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन्।

१.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनहरुले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ । गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी, र आइभीटी उपलब्ध छन्। नेपालकै उत्तम एसयूभीको रुपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ ।

यसैले पनि नयाँ हुन्डाई क्रेटाले पनि त्यही परम्परा कायम गरी धेरै भन्दा धेरै ग्राहकको मन जित्न सफल हुने कम्पनीको विश्वास छ। नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ पर्छ ।

नेपालमा हुन्डाईका ४५ हजार युनिट गाडी गुडिरहेका छन् । जसमा करिब १५ हजार युनिट क्रेटा रहेका छन् । हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट नै लगाएको छ । अहिले यो प्लान्टबाट भेन्यु एसेम्बल भइरहेको छ । कम्पनीले हुन्डाईको क्रेटा ईभी एसेम्बल गर्ने तयारी गरेको छ । २०२५ को जनवरीसम्म क्रेटा लन्च गर्ने गरि मार्चबाट व्यवसायिक उत्पादनको तयारीका साथ काम भइरहेको कम्पनीले जनाएको छ । ईभीमा आउने क्रेटाको मूल्य इन्टर्नल कम्बुस्चन इन्जिन (आइसीई) भन्दा सस्तो हुने कम्पनीको दाबी छ ।

लक्ष्मी ग्रुपले करिब २०० करोड रुपैयाँ खर्चेर तयार पारेको एसेम्बल प्लान्ट १० बिघामा फैलिएको  छ । करिब ११ महिनामा यो प्लान्ट तयार पारिएको हो । एसेम्बल प्लान्ट नवलपरासीमा छ ।

सन् २००६ मा लक्ष्मी ग्रुपले हुन्डाई डिलर भएर व्यापार सुरु गरेको हो ।


क्लिकमान्डु