आईफोन-१६ नेपालमा कहिले किन्न पाइन्छ ? यस्ता छन् फिचर



एजेन्सी । एप्पल कम्पनीले वहुप्रतिक्षित आईफोन १६ को सिरिज सार्वजनिक गरेको छ । सेप्टेम्बर ९ अर्थात् सोमबार अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आयोजित इभेन्टमा आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरियो ।

इट्स ग्लोटाइम नाम दिइएको उक्त इभेन्टबारे विश्वभरका प्रतिष्ठित मिडियाले समाचार प्रकाशन तथा प्रशारण गरेका थिए । इभेन्टमा आईफोन १६ सिरिजसँगै अन्य डिभाइसहरु पनि सार्वजनिक गरिएको छ।

उक्त इभेन्टमा एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई पनि बढावा दिएको थियो। अब आईफोनको नयाँ सिरिजको आफ्नो एआई सिस्टम एप्पल इन्टेलिजेन्सको साथमा आएको छ ।

एप्पल कम्पनीको चिप कार्यकारी टिम कुकले आफूहरुले एप्पल इन्टेलिजेन्स र यसको क्षमतासहित नयाँ डिजाइनमा आईफोन सार्वजनिक गरिएको बताए ।

जवकि गत जुनमा एप्पलले एआई इन्टेलिजेन्स सार्वजनिक गरेको थियो । तर एप्पलको नयाँ पर्सनल इन्टेलिजेन्स सिस्टम कतिपय क्षेत्रमा अलग पनि रहेको बताइएको छ । तर एप्पल इन्टेलिजेन्स फिचर अबको केही महिनापछि मात्रै सुरु हुनेछ । पहिले यसलाई केही देशमा बिटा भर्सनमा पठाइनेछ ।

क्यामेरा कन्ट्रोल

नयाँ सिरिजमा क्यामेरा एक्सन कन्ट्रोलका लागि साइड प्यानल बटन राखिएको छ । यसको प्रयोगबाट प्रयोगकर्ताहरुलाई क्यामेरा एप खोल्न, पिक्चर क्लिक गर्न, भिडियो बनाउन, जुम एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काममा सहज हुने बताइएको छ । साथै यसको प्रयोगले भिडियो बनाउन र पिक्चर क्लिक गर्न अति सहज हुने कम्पनीको दाबी छ । तर केही महिनापछि क्यामेरा कन्ट्रोलको माध्यमबाट प्रयोगकर्तालाई भिजुअल इन्टेलिजेन्स पनि उपलब्ध हुनेछ ।

एक्सन बटन

यो सिरिजमा एक्सन बटन पनि प्रयोगकर्तालाई उपलब्ध हुनेछ । यसको प्रयोगले प्रयोगकर्ताहरुलाई एक पटक प्रेस गरेर कैयौं फङसन स्विच गर्न सजिलो हुने बताइएको छ । जस्तै युजर्स फ्ल्यासलाइट, क्यामेरा वा कन्ट्रोल यसको प्रयोगबाट खोल्न सजिलो हुनेछ । र रिङ वा साइलेन्ट मोडलाई पनि स्विच गर्न सकिन्छ । यसवाहेक पनि अन्य सुविधा यसमा छन् ।

ए १८ चिप

एप्पल इन्टेलिजेन्सका लागि विशेषगरी नयाँ सिरिजमा ए १८ चिपको प्रयोग गरिएको पनि एप्पलले उल्लेख गरेको छ । जुन आईफोन सिरिजको दुई जेनेरेसन अगाडिको चिप हो । जवकि आईफोन १५ मा ए १६ बायोनिक चिपको प्रयोग गरिएको थियो । एप्पलले यसको क्षमता बढ्ने र ब्याट्री टिकाउ पनि धेरै हुने दाबी गरेको छ ।

क्यामेरा

आईफोन १६ मा ४८ मेगापिक्सलको डुअल क्यामेरा सिस्टम जडान गरिएको छ । साथै टेलिफोटो लेन्स २ एक्स जुमको क्षमता राखिएको छ । आईफोन १६ प्रोमा भने यो ५ एक्स जुम क्षमताको छ ।

ब्याट्री

आईफोन १६ मा २७ घन्टासम्मको भिडियो प्लेब्याक क्षमता उपलब्ध गराइएको एप्पलले जनाएको छ । आईफोन १६ प्रो भने ३३ घन्टासम्मको भिडियो प्लेब्याक क्षमताको हुने बताइएको छ ।

कलर, डिस्प्ले, क्यापसिटी

आईफोन १६ र आईफोन १६ प्लस जम्मा पाँचवटा कालो, सेतो, गुलाबी, टिल र अल्ट्रामरिन कलरमा उपलब्ध छन् । तर आईफोन १६ प्रो र प्रो म्याक्स भने चार रंगमा उपलब्ध छन् । जस्तै ब्ल्याक टाइटनेनियम, ह्वाइट टाइटेनियम, न्चुरल टाइटेनियम र डेजर्ट टाइटेनियम ।

डिस्प्ले साइजको सन्दर्भमा भने आईफोन १६ को साइज ६.१ इन्च हुन्छ । यस्तै आईफोन १६ प्लसको साइज ६.७ इन्च । आईफोन १६ प्रो को साइज ६.३ इन्च हुन्छ भने प्रो म्याक्सको साइज सबैभन्दा ठूलो ६.९ इन्चको हुन्छ । र १६ प्रो म्याक्स आईफोनका सबै सिरिजमध्ये ठूलो साइज हो ।

यस्तै क्षमताको विषयमा आईफोन १६, आईफोन १६ प्लसका तीन भेरिएन्ट छन् । जसमा १२८ जिबी, २५६ जिबी र ५१२ जिबी । आईफोन १६ प्रोका लागि भने १२८ जिबी, २५६ जिबी, ५१२ जिबी र १ टिबी गरी
चार वटा भेरिएन्ट छन् । यस्तै प्रो म्याक्सका तीन भेरिएन्ट २५६ जिबी, ५१२ जिबी र १ टिबी हुन् ।

मूल्य र सुविधा

आईफोन १६ का सिरिज अमेरिकामा सार्वजनिक भए पनि सबै देशमा अहिले नै उपलब्ध छैनन् । कतिपय देशमा भने यसको प्रि अर्डर सुरु भइसकेको छ ।

यद्यपि २० सेप्टेम्बरदेखि धेरै देशमा यो उपलब्ध हुनेछ । आईफोन १६ का सिरिज नेपालमा पनि सम्भवत: २० सेप्टेम्बरपछि नै उपलब्ध हुनेछन् ।

आईफोन १६ को सुरुवाती मूल्य १ लाख २७ हजार ९ सय ८४ रुपैयाँ पर्छ । जवकि नेपालमा आइपुग्दा करसहित यो मूल्य बढी हुनसक्छ । यस्तै १६ प्लसको सुरुवाती मूल्य १ लाख ४३ हजार ९ सय ८४ रुपैयाँ पर्छ । यस्तै १६ प्रो र प्रो म्याक्सको सुरुवाती मूल्य क्रमश: १ लाख ९१ हजार ८ सय ४० र २ लाख ३१ हजार ८ सय ४० रुपैयाँ पर्छ ।

एप्लले सोमबार आईफोन वाहेक अन्य नयाँ डिभाइसहरु पनि सार्वजनिक गरेको थियो । जहाँ एप्पल वाच सिरिज १० पनि उक्त इभेन्टमा सार्वजनिक गरिएको थियो ।

जसलाई आउटडोर एक्टिभिटी र हेल्थ मनिटरिङका लागि पनि प्रयोग गर्न सकिन्छ । र यो पनि २० सेप्टेम्बरपछि मात्रै धेरै देशमा उपलब्ध हुनेछ । यसैगरी वाच अल्ट्रा र एयरपड लगायतका डिभाइस पनि एप्पलले सार्वजनिक गरेको छ ।

आईफोन १६

स्टोरेज : १२८, २५६, ५१२ जिबी
डिस्प्ले:६.१ इन्च
क्यामेरा: ४८ एमपी मेन क्यामेरा १२ एमपी फ्रन्ट क्यामेरा
चार्जर :सी टाइप
मूल्य: १ लाख २७ हजार ९८४

आईफोन १६ प्लस

स्टोरेज: १२८, २५६, ५१२ जिबी
डिस्प्ले:६.७ इन्च
क्यामेरा: ४८ एमपी मेन क्यामेरा १२ एमपी फ्रन्ट क्यामेरा
चार्जर :सी टाइप
मूल्य: १ लाख ४३ हजार ९८४

आईफोन १६ प्रो

स्टोरेज: १२८, २५६, ५१२ जिबी (१ टिबी)
डिस्प्ले:६.३ इन्च
क्यामेरा: ४८ एमपी मेन क्यामेरा १२ एमपी फ्रन्ट क्यामेरा
चार्जर :सी टाइप
मूल्य: १ लाख ९१ हजार ८४०

आईफोन प्रो म्याक्स

स्टोरेज: २५६, ५१२ (जिबी), १ (टिबी)
डिस्प्ले:६.९ इन्च
क्यामेरा: ४८ एमपी मेन क्यामेरा १२ एमपी फ्रन्ट क्यामेरा
चार्जर :सी टाइप
मूल्य: २ लाख ३१ हजार ८४०


क्लिकमान्डु