पेट्रोलमा इथानोल मिसाउन आयल निगम नेतृत्त्व अग्रसर, मन्त्री भण्डारीको साथ



काठमाडौं । पछिल्लो समय पेट्रोलमा वातावरणमैत्री इथानोल मिश्रणको बहस चलिरहेको छ । पेट्रोलमा इथानोल मिसाए पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्‍याउने भन्दै यसको चर्चा चलेको हो ।

२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रण सम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ ।

इथानोल बर्निङ पावरयुक्त तत्व हो । इथानोल मिसाए पेट्रोलियम पदार्थको खपत कम हुन्छ भने विदेशी मुद्राको बचत हुन्छ । इथानोलले इन्जिनबाट हुने उत्सर्जन कम गराइ प्रदुषण घटाउँछ ।

भारत र चीनले समेत पेट्रोलियम पदार्थमा १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएकोमा नेपालले १० प्रतिशतलाई सहजै मिश्रण गर्न सक्छ । तत् तत् देशका नीतिगत व्यवस्थाअनुसार अमेरिकामा १० प्रतिशत, ब्राजितलमा २७ प्रतिशत, इन्डियामा १५ प्रतिशत र चीनमा १० प्रतिशत इथानोल पेट्रोलमा मिसाउन मिल्छ । भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । जसका लागि भारत सरकारले इथानोल उत्पादन र ढुवानीका लागि निःशुल्क व्यवस्था गरेको छ ।

यस्तो परिवेशमा सरोकारवाला निकाय तथा व्यक्तित्वहरुले आवश्यक तयारी नगरी कार्यान्वयनमा नजान सरकारसँग आग्रह गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा आवश्यक तयारी र प्रभावकारिताको एकीन नभइकन कार्यान्वयनमा नजान जोड दिएका हुन् ।

यता नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेकाले कार्यान्वयन गरि छाड्ने उद्घोष पनि गरे ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले बिलम्ब हुन गएको थियो,’ उनले भने, ‘तर पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको छ । इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि बनाउन पर्ने रहेकोमा उद्योग विभागले सो सम्बन्धी कार्यविधिका लागि स्वीकृति समेत दिइसकेको छ ।’

अब केही समयमा नै इथानोल उत्पादनमा जाने भन्दै भट्टले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने दाबी गरे ।

इथानोल उत्पादनमा धेरै उद्योगहरु तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले बताए । तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनले भनाइ छ ।

पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थमा इथानोलको मिश्रण बहसमाथि नै प्रश्न उठाउँदै यसको आवश्यकता माथि संशय व्यक्त गरे । उनले ईभी (विद्युतीय गाडी) को प्रयोगसँगै दैनिक रुपमा पेट्रोलियम पदार्थको आयात झन्झन् घट्दो क्रममा रहेकोमा इथानोल मिश्रण किन र कति आवश्यक हो ? भन्दै प्रश्न गरे ।

‘केही समय अघिसम्म नेपालले दैनिक ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्दै थियो । सो परिणाम अहिले घटेर २ हजार किलोलिटर हाराहारीमा झरिसकेको छ । यसरी आधा नै आयात घट्दैगर्दा थप पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको आवश्यक किन पर्यो ?’ उनले प्रश्न गरे ।

तथापि, आफूहरु पेट्रोलियम पदार्थको ढुवानीकर्ता भएकाले सरकारले जस्तो भन्यो त्यस्तै पेट्रोलियम पदार्थ बोक्ने (ढुवानी गर्ने) बताउँदै उनले बरु ढुवानी भाडा चाहीँ राम्रो दिन आग्रह गरे ।

नेपालमा जुनकुनै नीति तथा योजना बन्ने तर लामो समयसम्म पनि कार्यान्वयन नहुँने समस्या रहेको बताउँदै अध्यक्ष प्रधानले २०६० सालमा नै योजना बनेको इथानोल मिश्रणको नीति हालसम्म कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरे ।

‘भारतदेखि नेपालसम्म पेट्रोलियम पदार्थ पाइपबाट ल्याउने योजना २०३९ सालमा नै बनेको थियो । यसको झण्डै ४० वर्षपछि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन ल्याउन सफल भयौं । अब इथानोल मिश्रणको योजना कहिले साकार हुने हो ?’ उनले संशय व्यक्त गरे ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य एवंम् नाडाको वातावरण विभागका सभापति कपिल सिवाकोटीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीतिको कुनै तुक नभएको तर्क गरे । ढिलो चाँढो नेपाल पनि हाइड्रोजन उर्जामा कन्भर्ट हुने हुँदा अहिलेको ईभी र आईसीई (पेट्रोलियम इन्जिनयुक्त सवारी) मा इथानोलको प्रयोग आवश्यकता नै नपर्ने तर्क गरे ।

उपभोक्ताकर्मी माधव तिमल्सिनाले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्न सकिने भएपनि यो उपभोक्ता र वातावरणमैत्री हुनुपर्ने धारणा राखे । पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्दैगर्दा यसको सहुलियत उपभोक्ताले मूल्यमा पाउनुपर्ने बताए ।

अर्कातर्फ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रको नीतिमा सरकार धेरै अघि बढिसकेको बताउँदै मूल्य निर्धारणको काम मात्र बाँकी रहेको बताए ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एकमहिना भित्र टुंग्याउछौं,’ मन्त्री भण्डारीले भने ।

इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयाल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशनसमेत गरिसकेको उनले बताए ।


क्लिकमान्डु