तीन सहकारीका ऋणीको अनुभवः ऋण तिरे पनि सुख पाइएन !



काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सोमबार तीन वटा सहकारीका ऋणीसँग छलफल गरेको छ ।

सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको छानविन गरिरहेको संसदीय छानविन विशेष समितिको आज तीन वटा सहकारीका ऋणीहरूको अनुभवकेन्द्रित परामर्श तथा छलफल गरेको हो ।

समितिले सोसाइटल बचत तथा ऋण सहकारी, लालिगुराँस बहुउद्देश्यीय सहकारी, कान्तिपुर बचत तथा ऋण सहकारी र सुमेरु बचत तथा ऋण सहकारीका ऋणीहरुसँग सोधपुछ गरेको हो । सोसाइटल बचत तथा ऋण सहकारीबाट कुन्दन अर्याल, सुरेश आचार्य र अनन्तकान्त मैनालीले कर्जा लिएका थिए ।

यस्तै गायक रामकृष्ण ढकालले लालिगुराँस सहकारी, सागर बगालेले सुमेरु सहकारी, विदुर धमलाले कान्तिपुर सहकारीबाटबाट कर्जा लिएका छन् । छलफलका क्रममा सहकारीले भनेको, सहकारीले देखाए जस्तो ऋणीले ऋण तिर्न बाँकी नरहेको पाइएको बताइएको छ ।

कतिपय सहकारीले ऋणीको जायजेथा लिलाम बिक्री गरेर पनि ऋण तिर्न बाँकी रहेको देखाउने गरेको पाइएको समितिका सभापति सूर्य थापाले बताए । सहकारीले आफुखुसी ऋण देखाउँदा ऋणी थप समस्यामा पर्ने गरेका छन् ।


क्लिकमान्डु