दशैं तिहारअघि नै सडकका खाल्डाखुल्डी पुर्न मन्त्रीको निर्देशन



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरु बीचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्व सुरु हुनु अघि नै सडकका खाल्डाखुल्टीहरु तत्काल पुर्न निर्देशन दिएका हुन् ।

जोखिम रहेका स्थानहरुमा सडक सुरक्षाका पूर्वाधारहरु निर्माण र मर्मत गर्न निर्देशन दिँदै उनले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भई हाले उद्धार र अस्पताल सम्म पुर्‍याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरेका हुन् ।

सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानूनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने भन्दै उनले सडक सुरक्षा परिषदलाई क्रियाशिल र प्रभावकारी बनाईने समेत बताए ।

सुरक्षित सडक, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रुहरु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै मन्त्री दाहालले यसका लागि तीनै तहका सरकार र सम्वद्ध निकायहरु बीच सहकार्यको खाँचो रहेकोमा समेत जोड दिए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वहरु नजिक आई रहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

लामो दूरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन समेत उनले जोड दिए ।

कार्यक्रममा सडक सुरक्षाका विज्ञ डा.पार्थमणि पराजुली, सरोकुमार प्रधान लगायतले सडक सुरक्षा परिषदलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृहमन्त्रालय, सडक विभाग, सडक वोर्ड, यातायात व्यवस्था विभाग लगायत विभिन्न निकायका अधिकारीहरुले सडक सुरक्षाका लागि भई रहेका प्रयास र योजनाका बारेमा प्रकाश पारेका थिए ।


क्लिकमान्डु