अमेरिकामा एकै महिनामा तीन नेपालीको ज्यान गयो



काठमाडौं । अमेरिकामा एक महिनाको अवधिमा तीन जना नेपालीको मृत्यु भएको छ । गत साउन १५ देखि सम्पर्कविहीन रहेकी ममता काफ्लेको हत्या भएको तर हालसम्म उनको शव भेटिएको छैन ।

प्रहरीले काफ्लेका श्रीमान नरेश भट्टलाई पक्राउ गरी उनको शव खोजी गरिरहेको छ । तर उनको हत्या भएका प्रसस्त प्रमाण भेटिए पनि एक महिनासम्म पनि उनको शव भने प्रहरीले पत्ता लगाएको छैन । काफ्लेको हत्या उनका श्रीमान भट्टले गरेको भन्दै प्रहरीले भट्टविरुद्ध मुद्दा चलाएको छ ।

त्यसको केही सातापछि नै ह्युस्टनस्थित नेपाली युवती मुना पाण्डेको हत्या भयो । भारतीय मूलका हनी सिंह नामका पुरुषले पाण्डेको हत्या गरेको भन्दै प्रहरीले सिंहलाई पक्राउ गरेको छ । सिंह पाण्डेको कोठामा प्रवेश गरेर गोली प्रहार गरेको दृश्य सीसी टिभीमा देखिएको भन्दै प्रहरीले उनीविरुद्ध पनि मुद्दा चलाएको छ ।

पाण्डेको हत्याको एक सातापछि नै सेप्टेम्बर १ मा सोमबार चितवन मूल घर भएका ४७ वर्षीय शान्तलाल प्रधान मेरील्यान्डस्थित आफ्नै कोठामा मृत भेटिएका हुन् । तर उनको हत्या हो वा मृत्यु भनी यकिन भइसकेको छैन । र हत्याका लागि आपराधिक गतिविधिमा उपयोग गरिएका उपकरण वा त्यससम्बन्धी संकेत अहिलेसम्म नभेटिएको बताइएको छ ।

प्रधानको शव नेपाल पठाउन अमेरिकामा रहेका नेपालीहरुले अभियान नै चलाइरहेका छन् । यसरी हेर्दा एक महिनाको अवधिमा अमेरिकामा तीन जना नेपालीहरुको मृत्यु भएको छ । प्रधानले आत्महत्या गरेको हुनसक्ने आशंका पनि गरिएको छ । तर यसका लागि के कुराले प्रेरित गर्‍यो भन्ने विषयमा पनि यकिन भइकेको छैन । प्रधानको घटनाबारे प्रहरीले अुसन्धान गरिरहेको छ। अमेरिकास्थित नेपालीभाषी अनलाइन पोर्टलहरुका अनुसार प्रधान एक वर्षअघि हतियारधारी समूहबाट लुटिएका थिए ।

यसअघि हत्या गरिएकी मुना पाण्डे भने अमेरिकामा अध्ययनरत थिइन् । अमेरिकामा सञ्चालित नेपालीभाषी अनलाइनहरुका अनुसार भारतीय मूलका हनी सिंहसँग मुनाले अलाइन डेटिङ साइट ‘सुगर ड्याडी’ मार्फत भेट गरेको प्रमाण प्रहरीले भेटेको छ । तर उनीहरुबीचको सम्बन्धबारे विस्तृतमा सार्वजनिक भएको छैन ।

यसैबीच गत साउनको तेस्रो साता हत्या भएकी ममता काफ्ले श्रीमान र छोरीको साथमा अमेरिकामा बस्दै आएकी थिइन् । उनका श्रीमान भट्टले भने केही महिना अघिदेखि नै श्रीमतिको मृत्युको कति समयपछि दोस्रो बिहे गर्न पाइन्छ भन्ने जस्ता विषयमा अनलाइनमा खोजी गरेको र पसलबाट चक्कु किन्दै गरेको जस्ता दृश्य भटिएको प्रहरीले फेला पारेको छ ।

यस्तै घरमा पनि रगत लतपतिएको र बाथरुममा लगेर रगत सफा गरेको जस्ता दृश्य अनुसन्धानको क्रममा फेला परेको छ। यद्यपि उनका श्रीमान भट्टले अदालतमा बयानको क्रममा केही प्रतिक्रिया नै दिएका छैनन् ।

अमेरिकामा हातहतियार खरिद गर्न सक्ने र घरमा राख्न पाउने प्राबधान हुँदा यसले आम नागरिकमा असुरक्षा महसुस गराउने भन्दै बारम्बार हतियारसम्बन्धी कानुन परिवर्तन गर्नुपर्ने माग उठ्ने गरेको छ । कतिपय अवस्थामा त स्कुलमा समेत गोली प्रहार गरी हत्या गरेका घटना भएका छन् ।

नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको लागि अभियान सुरु गर्दा पूर्वरष्ट्रपनि डोनल्ड ट्रम्पमाथि समेत गोली प्रहार भएपछि हतियार सम्बन्धी कानुन कडा बनाउनु पर्ने बहस उठेको छ । यस्तो अवस्थामा अमेरिकामा रहेका नेपालीहरुले भने हतियार लिन नपाउँदा असुरक्षा महसुस गर्ने गरेको विभिन्न घटनाक्रमले देखाउँछन् ।


क्लिकमान्डु