अमेरिकामा फेरि नेपाली युवतीको हत्या



काठमाडौ । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा एक नेपाली युवतीको गोली हानी हत्या भएको छ । ह्युस्टनमा रहेको एक कलेजमा अध्ययनरत नेपाली छात्राको अपार्टमेन्टमै गोली प्रहार भएको बताइएको छ ।

अमेरिकाबाट सञ्चालित नेपालीभाषी अनलाइन पोर्टलमा प्रकाशित समाचार अनुसार ती युवतीको हत्या कसले र किन गर्‍यो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मुना पाण्डे नाम गरेकी ती युवती ह्युस्टनको हिलक्रप्टस्थित अपार्टमेन्टमा बस्दै आएकी थिइन् । घटनापछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल लगेको छ । टेक्सस राज्यको प्रमुख सहरको रुपमा चिनिने ह्युस्टन अमेरिकाकै चौथो ठूलो सहर पनि हो ।

सोमबारको यो घटनाबारे मृतकका नेपालमा रहेका परिवार र आफन्तलाई जानकारी दिइएको पनि बताइएको छ । मुनाकी आमा अनिता पाण्डे अधिकारी नेपालमै बसोबास गर्छिन् । अनिताले मुनासँग घटनाको चार दिनअघि मात्रै कुराकानी भएको र मुना एक मात्र सन्तान रहेको जानकारी दिएकी छन् ।

अमेरकामा बसोबास गर्ने नेपाली युवती ममता काफ्लेको हत्या भएको केही दिनपछि नै अर्की नेपाली युवतीको हत्याको समाचार सार्वजनिक भएको छ । काफ्लेको भने आफ्नै पतिले हत्या गरेको खुलासा भएको भन्दै प्रहरीले पक्राउ गरिसकेको छ ।

अमेरिकामा आम नागरिकले पनि हातहतियार राख्न पाउने कानुन छ । जसले गर्दा हरेक वर्ष यस्ता हत्याका घटना बढिरहेको पाइन्छ । तर नेपाली विद्यार्थी तथा आप्रवासीहरुको हकमा हतियार राख्न पाउने प्राबधान छैन । यद्यपि हतियार सम्बन्धी कानुन परिमार्जन गर्नुपर्ने भन्दै बारम्बार सरकारको आलोचना हुने गरेको छ ।


क्लिकमान्डु