५५ लाख नतिरेपछि शिवानी एयरको पाटपूर्जा लिलाम गर्दै प्राधिकरण, नपुगेको पैसा सञ्चालकबाट उठाइने




काठमाडौं । नेपाल शिवानी एयरलाई नागरिक उड्डयन प्राधिकरणले पटक पटक सार्वजनिक सूचना जारी गरेर बाँकी बक्यौता तिर्न आग्रह गर्दै आएको छ । तर शिवानी एयरले ४ पटक सूचना जारी गर्दासमेत बक्यौता नतिरेपछि जहाजको पाटपूर्जा बेचेर बक्यौता असुल गर्ने तयारी प्राधिकरणले गरेको छ ।

प्राधिकरणका अनुसार शिवानी एयरको २०६९ असोज ८ गतेसम्ममा ५५ लाख ५० हजार रुपैयाँ बक्यौता रहेको छ । उक्त रकम उठाउन प्राधिकरणले विभिन्न समयमा सार्वजनिक सूचना जारी गर्दा पनि शिवानी एयरले बक्यौता तिर्न अटेर गरेकोले अन्तिम पटक सोमबार सूचना जारी गरेर २१ दिनको समय दिएको छ ।

यो अवधिभित्र पनि बक्यौता नतिरे शिवानी एयरको भैरहवामा रहेको जहाजको पाटपूर्जा बिक्री गरेर बाँकी असुल गर्ने प्राधिकरणले जनाएको छ । उक्त पाटपूर्जा बिक्री गर्दासमेत शिवारी एयरको बक्यौता असुल नभए सञ्चालक मणिन्द्रलाल रन्जितकारबाट असुल गरिने भएको छ ।

रन्जितकारले २०८० वैशाख ३१ गते ७ दिनभित्रै बक्यौता तिर्ने र नागरिक उड्डयन प्राधिकरण भरतपुरलाई पनि २०८० साउन ८ मा उक्त बक्यौता तिर्ने प्रतिवद्धता जाहेर गरेर पनि हालसम्म नतिरेको प्राधिकरणको भनाइ छ ।

आर्थिक संकटका कारण बन्द भएको शिवानी विमान चालकहरुलाई प्रशिक्षण दिने एयरलाइन्स हो । शिवानी एयरले वायुयान चालक प्रशिक्षण संस्था संचालन गर्दा भरतपुर विमानस्थलमा जग्गा भाडामा लिई ह्यांगर बनाएको थियो ।

उक्त क्रममा शिवानीले तीनवटा लाइट जहाज पनि राखेको छ । डाइमन्ड काटनाका तीनवटा जहाज पनि रहेका छन् ।


क्लिकमान्डु