नेपाल पुनर्बीमाः ‘जनयुद्ध’ले जन्माएको अर्ब कमाउने कम्पनी
काठमाडौं । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको रक्षा मन्त्रालयसमेत रहेको पेन्टागन र टुइन टावर आतंककारी हमलाबाट ध्वस्त भए ।
त्यसपछि विश्वब्यापी रुपमा बीमाको अर्काे अध्याय सुरु भयो । त्योभन्दा अगाडि पनि आतंककारी तथा विध्वंसात्मक गतिबिधिबाट हुने क्षतिको बीमा गर्ने प्रचलन थियो । तर, नगन्य थियो । सेप्टेम्बर ११ पछि आतंककारी तथा विध्वंसात्मक गतिबिधिबाट हुने क्षतिको बीमा गर्ने लहर चल्यो ।
विश्वकै शक्तिशाली देश अमेरिकाको रक्षा मन्त्रालयमै यो प्रकारको आतंककारी हमला भएपछि विश्व केही हदसम्म डरायो । बीमा कम्पनीहरु यस्तो क्षतिको बीमा गर्न हिचकिचाउन थाले । पुनर्बीमा कम्पनीहरु पनि यस्तो बीमाको पुनर्बीमा गराउन आनाकानी गर्न थाले ।
यही बेलामा आतंककारी तथा विध्वंसात्मक गतिबिधिबाट हुने क्षतिको बीमा नगराइ नहुने बाध्यात्मक अबस्था अर्काेतिर थियो । नेपाल जस्ता कम शक्तिशाली देशको कुरा विश्वमन्चमा सुनुवाइ त्यति हुदैन । यसैकारण नेपाल जस्ता देशले आतंककारी हमलाबाट हुने क्षतिको बीमा गराउन मुस्किल पर्न थाल्यो ।
त्यो बेलामा नेपालमा माओबादीको ससस्त्र विद्रोह ‘जनयुद्ध’ चलिरहेको थियो । माओबादी ‘जनयुद्ध’लाई नेपालले आतंकारी गतिबिधि घोषणा गरेर त्यही प्रकारको कारबाही गरिरहेको थियो ।
नेपाली बीमा कम्पनीहरुले कूल पुनर्बीमाको ३० प्रतिशतसम्म नेपालकै कम्पनीमा पुनर्बीमा गराउन सक्ने ब्यवस्था गरिदिएका छौं, सरकारले खोजिदिएको ब्यापारकै भरमा कम्पनी चल्दैन, कम्पनी आफैले बजार खोज्नु पर्यो, यसो भयो भने मात्रै स्थायित्व हुन्छ
‘जनयुद्ध’को बेलामा नेपालका ब्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको क्षति ब्यापक हुन थाल्यो । यसमा राज्यपक्ष र बिद्रोही पक्ष दुबै जिम्मेवार थिए । यस्तो क्षतिको बीमा गराउन सकिने अबस्था थिएन । यस्तो बाध्यात्मक परिबेशमा सरकारले सन् २००३ मा आकष्मिक बीमा कोष स्थापना गर्यो ।
यो कोषमा सरकारले ५ करोड रुपैयाँ हाल्यो । निर्जीबन बीमा कम्पनीहरुले ५ करोड रुपैयाँ लगानी गरे । अनि माओबादी ‘जनयुद्ध’का बेलामा सरकार र बिद्रोही पक्षबाट क्षति भएका ब्यक्तिगत तथा सार्बजनिक सम्पत्तिको त्यही कोषले क्षतिपूर्ति दिन थाल्यो ।
‘तत्कालिन विद्रोही पक्षबाट भएको क्षतिको बीमा गराउन नेपाली कम्पनीहरु तयार थिएनन्, पुनर्बीमा कम्पनीहरुले यस्तो क्षतिको पुनर्बीमा गराउन मानेनन्, यही आवश्यकताले आकष्मिक बीमा कोष जन्माएको थियो,’ बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल सम्झन्छन् ।
कोषले आफ्नो काम गरिरहेको थियो । विक्रम सम्बत २०६३ सालमा आएर माओबादी ‘जनयुद्ध’ शान्ति पक्रियामा प्रबेश गर्यो । विश्वब्यापी रुपमा आतंकारी गतिबिधिको भय पनि कम हुँदै गयो । अर्थात एक प्रकारले भन्दा आतंकबाद पराजित हुदै गयो ।
त्यो बेलासम्ममा नेपाली बीमा कम्पनीहरुमाथि अर्काे जवरजस्त आरोप लाग्न थालिसकेको थियो । नेपालबाट ठूलो मात्रामा बिदेशी मुद्रा बाहिर पठाएको आरोप बीमा कम्पनीहरुमाथि मात्रै नभएर बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमाथि पनि थियो ।
नेपालमा पनि बीमा ब्यवसायको राम्रो बृद्धि तथा अन्तराष्ट्रिय ब्यापार पनि आउन सक्ने सम्भावना देखिएपछि कोषलाई नै पुनर्बीमा कम्पनीमा परिणत गरौं भन्ने सोच आएको हो
‘कोषले प्रभावकारी काम गरेको भएपनि उसका आफ्नै सीमा र बाध्यताहरु थिए, दक्षिण एशियामा नै पुनर्बीमा कम्पनी स्थापना गर्ने लहर चलेको थियो, हाम्रो देशबाट ठूलो परिमाणमा बिदेशी मुद्रा बाहिरिने तर बिदेशबाट नआउने क्रममा केही सुधार आवश्यक थियो, नेपालमा पनि बीमा ब्यवसायको राम्रो बृद्धि तथा अन्तराष्ट्रिय ब्यापार पनि आउन सक्ने सम्भावना देखिएपछि कोषलाई नै पुनर्बीमा कम्पनीमा परिणत गरौं भन्ने सोच आएको हो,’ बीमा समितिका तत्कालिन अध्यक्ष प्राडा फत्तबहादुर केसी स्मरण गर्छन् ।
समितिले २०६६ सालमा एउटा कमिटी नै गठन गरेर नेपालमा पुनर्बीमा कम्पनीको सम्भावना छ/छैन भनेर अध्ययन गराएको थियो । सो अध्ययनले पनि नेपालको आफ्नै एउटा पुनर्बीमा कम्पनी हुनु पर्ने र त्यसको लागि सम्भावना भएको देखायो । अनि पुनर्बीमा कम्पनी स्थापनाको औपचारिक प्रक्रिया सुरु भयो ।
नेपालमा कुनै पनि काम छिटो छरितो रुपमा त हुँदैन नै । आकष्मिक बीमा कोषलाई पुनर्बीमा कम्पनी बनाउन पनि लामै समय लाग्यो । अन्ततः २०७१ साल कात्तिक २१ गते पुनर्बीमा कम्पनी स्थापना भयो ।
‘कोषमा सरकारको लगानी पनि थियो, सबै निर्जीबन बीमा कम्पनीहरुले लगानी गरेका थिए, कोषमा भएको रकमलाई बोनस सेयरको रुपमा दिने र कोषका लगानीकर्तालाई नै पुनर्बीमा कम्पनीको संस्थापकको रुपमा विकास गर्ने गरी पुनर्बीमा कम्पनी स्थापना गरियो,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी भन्छन् ।
आज (कात्तिक २० गते) पुनर्बीमा कम्पनी ३ बर्ष पूरा भएको छ । भोलिदेखि चौथो बर्षमा प्रबेश गर्दैछ । कम्पनी स्थापनाको उद्देश्य र अपेक्षा अनुसार काम भएको छ ?
अहिले आफूहरु आक्रामक बजार बिस्तारभन्दा पनि स्थायित्व हुने गरी ब्यवसाय बिस्तारमा लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भण्डारी बताउँछन् ।
कोषमा सरकारको लगानी पनि थियो, सबै निर्जीबन बीमा कम्पनीहरुले लगानी गरेका थिए, कोषमा भएको रकमलाई बोनस सेयरको रुपमा दिने र कोषका लगानीकर्तालाई नै पुनर्बीमा कम्पनीको संस्थापकको रुपमा विकास गर्ने गरी पुनर्बीमा कम्पनी स्थापना गरियो
‘विश्वमा पुनर्बीमा कम्पनी टाट पल्टेका उदाहरण पनि छन्, हामीले आक्रामक बजार विस्तार गर्नेभन्दा पनि सस्टेनेबल बिजनेस गर्ने गरी अगाडि बढ्नु उपयुक्त हुन्छ, ब्यवसाय विस्तारलाई मात्रै मानकको रुपमा लिने हो तत्काल बढाउन कुनै समस्या छैन,’ भण्डारीको भनाइ छ ।
यति भन्दाभन्दै पनि उनको मनमा सरकारले एउटा सजिलो बाटो बनाइदिए हुन्थ्यो भन्ने रहेछ ।
‘बजेट भाषणमा नेपाली बीमा कम्पनीहरुले निश्चित प्रतिशत पुनर्बीमा यही कम्पनीमा गराउने ब्यवस्था गरिनेछ भन्ने ब्यवस्था थियो, त्यो कार्यान्वयन हुने हो भने राम्रो हुन्छ, नेपाली बीमा कम्पनीले विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउँनुभन्दा नेपाली कम्पनीसँगै गराउन पाए उनीहरुलाई पनि सजिलो हुन्थ्यो,’ भण्डारी थप्छन् ।
बीमा समितिका कार्यकारी निर्देशक पौडेल भने ब्यवसाय विस्तारको लागि सरकारको मुख ताक्नुभन्दा आफैले बजार खोज्नु राम्रो हुने बताउँछन् ।
‘नेपाली बीमा कम्पनीहरुले कूल पुनर्बीमाको ३० प्रतिशतसम्म नेपालकै कम्पनीमा पुनर्बीमा गराउन सक्ने ब्यवस्था गरिदिएका छौं, सरकारले खोजिदिएको ब्यापारकै भरमा कम्पनी चल्दैन, कम्पनी आफैले बजार खोज्नु पर्यो, यसो भयो भने मात्रै स्थायित्व हुन्छ,’ कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।
पुनर्बीमा कम्पनीले बिदेशबाट बढीभन्दा बढी ब्यवसाय ल्याउन पहल गर्नुपर्ने समितिका पूर्वअध्यक्ष प्राडा केसी बताउँछन् ।
विश्वब्यापी आतंककारी गतिबिधि र नेपालमा १० बर्षसम्म चलेको माओबादी ‘जनयुद्ध’ ले नेपालमा बार्षिक १ अर्ब रुपैयाँको हाराहारीमा नाफा गर्ने कम्पनी भने स्थापना गराइ दिएको छ
‘कम्पनी स्थापना हुनुमात्रै ठूलो उपलब्धी होइन, कम्पनी कसरी चलेको छ, त्यसले राष्ट्रिय हित प्रवद्र्धन गरेको छ कि छैन, बिदेशी पुँजी, उपयुक्त प्रबिधि र दक्ष जनशक्ति परिचालन गरेको छ कि छैन भन्ने जस्ता कुराहरु पनि आउँछन्,’ प्राडा केसीको भनाइ छ ।
नेपाल पुनर्बीमा कम्पनीमा नेपाली बीमा कम्पनीहरुले ५ देखि २० प्रतिशतसम्म ब्यवसाय दिइरहेका छन् । सो कम्पनीले अहिले १५ भन्दा बढी देशहरुका बीमा कम्पनीको पुनर्बीमा गराइरहेको छ ।
कम्पनीले गत आर्थिक बर्षमा ३ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको पुनर्बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार उसको गत आर्थिक बर्षको नाफा ९३ करोड ९१ लाख रुपैयाँभन्दा बढी हुनेछ । यो रकमबाट नेपाल पुनर्बीमा कम्पनीले २८ करोड १७ लाख रुपैयाँभन्दा बढी त सरकारलाई कर नै तिर्नेछ ।
नेपाल पुनर्बीमा कम्पनीको भ्रुण आकष्मिक बीमा कोष स्थापनासँगै हुर्किएको थियो । अहिले कम्पनी बनेको ३ बर्ष पूरा भएको छ । विश्वब्यापी आतंककारी गतिबिधि र नेपालमा १० बर्षसम्म चलेको माओबादी ‘जनयुद्ध’ ले नेपालमा बार्षिक १ अर्ब रुपैयाँको हाराहारीमा नाफा गर्ने कम्पनी भने स्थापना गराइ दिएको छ ।