भारतीय चोकरले स्वदेशी उत्पादन प्रभावित, भन्सार मूल्यांकन संशोधनको माग



विराटनगर । सस्तो भन्सार मूल्यांकन र न्यून बिजकीकरणबाट भित्रिने भारतीय चोकरका कारण स्थानीय मैदा मिल प्रभावित भएको भन्दै उद्योगीले चोकरको भन्सार मूल्यांकनमा संशोधन गर्न माग गरेका छन् ।

मुलुकमा ४६ वटा मैदा मिल छन् । चोकर ति मिलको सहायक उत्पादन हो र यसमा मुलक आत्मनिर्भर छ । चोकर आयत गर्दा प्रति केजी १६ रुपैयाँ भन्सार मूल्यांकन हुन्छ । यो मूल्यांकनमा चोकर आयात हुँदा नेपाली उत्पादन प्रभावित भएको नेपाल मैदा उद्योग संघको भनाइ छ ।

संघका महासचिव राधेश्याम अग्रवाल नेतृत्वको टोलीले बिहीबार भन्सार विभागलाई बुझाएको पत्रमा भारतीय चोकरको भन्सार मूल्यांकन कम्तिमा प्रति केजी ४० देखि ४४ रुपैयाँसम्म कायम गर्न आग्रह गरिएको छ । भन्सार मूल्यांकनमा संशोधन गर्ने हो भने स्वदेशी उद्योग प्रतिष्पर्धामा टिक्न सक्ने पत्रमा उल्लेख छ ।

नेपाली चोकर बंगलादेश र भारत निकासी हुँदै आएको छ । गतवर्ष भारततर्फ २ लाख ७४ हजार मूल्यको नेपाली चोकर भारत निकासी भएको विराटनगर भन्सारको तथ्यांक छ ।

नेपालमा चोकरको मूल्य पूर्वमा प्रतिकेजी ४८ र पश्चिममा ४७ रुपैयाँ छ । सस्तो भन्सार मूल्यांकनमा भारतीय चोकर एक प्रज्ञापन पत्र मार्फत दुई तीन ट्रकसम्म आउने गरेको छ । सम्बद्ध एक उद्योगीले भने, ‘भन्सारको मिलोमतोमा त्यसरी भित्रिएको भारतीय चोकरले नेपाली उत्पादन उद्योगमै मौज्जाद रहँदा उद्योग प्रभावित भएका छन् । भारतीय चोकर खासगरी सुनसरीको कोशी व्यारेज स्थित भाण्टावारी नाकाबाट भित्रिने गरेको छ ।’

अग्रवालले भन्सारलाई बुझाएको पत्रमा भारतबाट आयात हुने चोकरको गुणस्तर परीक्षणको व्यवस्था गरिनु पर्ने माग उल्लेख छ । न्यून विजीकरणमा भित्रिने भारतीय चोकरको गुणस्तर न्यून भएको र त्यसले यहाँका चौपायको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने उल्लेख छ ।

भारतले गहुँ आयातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा गहुँको मूल्यमा हुने गरेको उतार चढावका कारण चोकरको मूल्यमा समेत प्रत्यक्ष प्रभाव परेको छ । हाल नेपालमा चोकरको मूल्य प्रतिकेजी लगभग ४७ रुपैया छ ।

हाल कामय गरिएको चोकरको भन्सार मूल्यांकन प्रतिकेजी १६ रुपैयाँ र बजारको अवस्थामा निकै फरक देखिएकाले चोकरको भन्सार मूल्यांकन प्रतिकेजी ४० देखि ४४ रुपैयाँसम्म कायम गरी स्वदेशी उद्योगको संरक्षण गर्न महासचिव अग्रवालको पत्रमा उल्लेख छ ।


क्लिकमान्डु