कृषिमन्त्री अधिकारीद्वारा कृषिमा लगानी बढाउन अमेरिकाका अधिकारीसँग आग्रह



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी बढाउन अमेरिकी अधिकारीसँग आग्रह गरेका छन् ।

मन्त्री अधिकारीले अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स तथा युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोसँग नेपालको कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । बिहिबार ति दुवै अधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री अधिकारीले यस्तो आग्रह गरेका हुन् ।

अमेरिकाले सन् १९५० को दशकदेखि नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको स्मरण गराउँदै मन्त्री अधिकारीले आगामी दिनमा कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोगका लागि आग्रह गरेका छन् ।

दिगो विकास लक्ष्य प्राप्त गर्न सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, कृषि अनुसन्धानको दायरा बढाउने, कृषि पूर्वाधारको विकासलाई तीव्रता दिने, उत्पादित कृषि उपजको आन्तरिक तथा बाह्य बजारमा सहज पहुँच पुर्याउने, नेपालको भौगोलिक क्षेत्रको आधारमा कृषि उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरी कृषि पर्यटन समेतको सम्भावनालाई साकार पार्ने योजना रहेको मन्त्री अधिकारीले छलफलको क्रममा जानकारी गराएका थिए ।

मन्त्री अधिकारीले भने,‘विश्वव्यापी भोकमरीको अन्त्य गर्न योगदान गर्न लक्ष्य लिएका छौ । यी लक्ष्यहरु पूरा गर्न ठुलो लगानीको आवश्यकता पर्ने हुन्छ, यसका लागि युएसएआइडीको पहलमा संयुक्त राज्य अमेरिका सरकारबाट आवश्यक भूमिका निर्वाह हुनेछ र सहयोग प्राप्त हुनेछ भन्ने मैले आशा गरेको छु।’

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री अधिकारीले उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने पनि लक्ष्य लिएको जानकारी दिए ।

अमेरिकी सरकारको सहयोगमा चालु आर्थिक वर्षबाट सुरु हुन लागेको एग्रिकल्चर ट्रान्सफरमेसन आयोजनाको समझदारी पत्रमा हस्ताक्षर गर्न केही समस्या परेको जानकारी आफूले पाएको उनले बताए ।

‘यो विषयलाई मैले गम्भीर रूपमा लिएको छु । समस्या समाधानको लागि यस मन्त्रालयले अर्थ मन्त्रालयसँग आवश्यक पहल तथा समन्वय गरिरहेको छ,’ उनले भेटमा भने,‘मैले आफ्नो व्यक्तिगत तर्फबाट पनि अर्थमन्त्रीज्यूसँग छलफल गरेको छु । यो विषयले चाँडै निकास पाउनेमा आशावादी छु ।’

युएसएआइडी मिसन डाइरेक्टर डोनोहोले कृषिसहित नेपालको आर्थिक विकासमा आफूहरू सहकार्य गर्न तयार रहेको आश्वासन दिएका थिए ।


क्लिकमान्डु