प्रचण्डलाई गगनले भने: आफूले लगाएको आगोले आफैंलाई जलाउन सक्छ (भिडियो)



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आवेग र उत्तेजनताको राजनीति नगर्न सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा थापाले प्रतिपक्षले सरकारमाथि प्रश्न उठाउन पाउने अधिकार भए पनि प्रचण्ड बहकिएको टिप्पणी गरे । उनले प्रतिपक्षी दल भनेको प्रणालीको प्रतिपक्ष नभएर सरकारको मात्र प्रतिपक्ष भएको बताए ।

थापाले आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्ने तर्फ सचेत हुन प्रचण्डलाई सुझाव दिए ।

‘प्रतिपक्षमा बस्दै गर्दा पनि सिस्टमको अपोजिसन होइन, सरकारको मात्रै अपोजिसन हो । सरकारले पनि त्यसको सम्मान गर्नुपर्छ, गरि पनि रहेको छ । गरेन भने हामी छौं । विपक्ष दलको जिम्मेवारी जसले लिएको छ त्यसले पनि सोच्नुपर्छ । एकछिनको लाभ र अन्तरविरोधमा खेल्नको लागि यतिधेरै पनि बरालिनुहुन्न कि आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्छ । आफैंलाई जलाउन सक्छ, बाल्न सजिलो छ, निभाउन गाह्रो छ’ उनले भने ।

सरकारमाथि प्रश्न उठाउनु प्रतिपक्षको मुख्य काम नै भएको बताए ।

नेपाललाई बंगलादेश बनाइदिने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जिम्मेवार भएर विपक्षीको भूमिका निर्वाह गर्न थापाले चेतावनी दिए । उनले उत्तेजनाको राजनीतिक बिक्छ भनेर जे पनि बोल्ने प्रबृति बढेको र त्यसका बाछिटाहरू संसद्‌मा पनि देखिन थालेको बताए ।


क्लिकमान्डु