धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा २२ कम्पनीको साढे १९ अर्बको हकप्रद सेयर रोकियो



काठमाडौं । धितोपत्र बोर्डमा समयमा नै अध्यक्ष नियुक्त नहुँदा सूचीकृत २२ कम्पनीको १९ अर्ब ४० करोड २५ लख २२ हजार ९६८ रुपैयाँको १९ करोड ४० लाख २५ हजार २२९ कित्ता हकप्रद सेयर पाइपलाइनमा रहेको छ ।

सरकारले अध्यक्ष नियुक्त गर्न नसक्दा करिब ८ महिनादेखि बोर्डमा धेरै निर्णय हुन सकेको छैन । सरकारले अध्यक्ष नियुक्त गर्न नसकेकै कारण हाल २२ कम्पनीको १९ अर्ब ४० करोड २५ लाख २२ हजार ९६८ रुपैयाँको १९ करोड ४० लाख २५ हजार २२९ कित्ता हकप्रद सेयर निष्कासन हुन सकेको छैन ।

हकप्रद सेयर निष्कासन गर्न लागेका कम्पनीमा जलविद्युत कम्पनी र बिमा कम्पनी मात्रै रहेका छन् । हकप्रद सेयर निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीमा १४ वटा जलविद्युत र ८ वटा बिमा कम्पनी रहेका छन् ।

जीवन बिमा कम्पनीतर्फ प्रभु महालक्ष्मी जीवन बिमा, एशियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । यस्तै निर्जीबन बिमा कम्पनीतर्फ एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स हकप्रद सेयर निष्कासनको तयारीमा रहेका छन् ।

बिमा प्राधिकरणले जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीबन बिमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब हुनुपर्ने व्यवस्था गरेपछि नियामकले तोकेको पुँजी पुर्याउन बिमा कम्पनीहरुले हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

एनएलजी इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको ९६ लाख ३१ हजार २२०.२२ कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

यसैगरि, नेको इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको ५० लाख ३० हजार ९०१ कित्ता, प्रभु इन्स्योरेन्सले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँको ८३ लाख ५० हजार १३५ कित्ता, नेपाल इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँको ६५ लाख ७६ हजार ९३७ कित्ता सेयर निष्कासनको तयारी गरेको छ ।

यस्तै, प्रभु महालक्ष्मी लाइफले ७३ करोड ३ लाख २० हजार रुपैयाँको ७३ लाख ३ हजार २०० कित्ता सेयर निष्कासन पाइपलाइनमा रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता, सन नेपाल लाइफले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता र लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर पाइपलाइनमा रहेको छ ।

हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका जलविद्युत कम्पनीमा जोशी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, तेह्रथुम पावर, बलेफी हाइड्रोपावर, बाराही हाइड्रोपावर, पिपुल्स पावर, दोर्दीखोला जलविद्युत कम्पनी, राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सन, रिभरफल्स पावर कम्पनी रहेका छन् ।

यस्तै, शिव श्री हाइड्रोपावर, बरुण हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, ङादी ग्रुप पावर र लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बोर्डमा अनुमति मागेका छन् ।

अध्यक्ष नियुक्त हुन नसक्दा धितोपत्र बोर्डमा हाल अर्थ मन्त्रालयका सहसचिव महेश बराल अध्यक्षको रुपमा रहेका छन् । तर, उनी बोर्डको अध्यक्ष नियुक्ति नहुन्जेलका लागिमात्र अध्यक्षको भूमिकामा रहेका कारण विभिन्न कम्पनीका हकप्रद सेयर निष्कासनको निर्णय अन्यौलमा परेको हो ।

यसअघिका अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले खुला आवेदन माग गरेको थियो । तर, विवादका बिच नयाँ अध्यक्ष नियुक्ति अदालतमा पुगेपछि विगत ८ महिनादेखि अध्यक्ष नियुक्त हुन नसक्दा हकप्रद सेयर निष्कासन रोकिएको हो ।

अर्थ मन्त्रालयबाट गएका सहसचिवले पाईपलाइनमा रहेका हकप्रद सेयर निष्कासन गर्न अनुमति दिने आँट गरेका छैनन् ।


क्लिकमान्डु