१७ बैंकको ब्यालेन्सिट आयोः कुन बलियो कुन कमजोर ?



काठमाडौं । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये आइतबारसम्ममा १७ वटा बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको अपरिस्कित वित्तीय विवरण सार्वजानिक गरेका छन् ।

वित्तीय विवरण सार्वजानिक गर्ने बैंकमध्ये अधिकांसले गत वर्षको पहिलो त्रैमासको तुलनामा नाफा बढाएका छन् । केही बैंकको नाफा भने घटेको छ । ब्याजदर नघटेको कारण यो वर्ष धेरै बैंकहरूको नाफा नै घट्ने हो कि भन्ने संकेत पहिलो ३ महिनाले दिएको छ ।

नबिल बैंक

यो बैंकले असोज मसान्तमा ८५ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ ।अघिल्लो वर्षको असोज मसान्तको तुलनामा यो वर्ष नबिलले ६ प्रतिशतले नाफा बढाएको हो ।

नेपालका वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक पर्छ । नबिलले नाफा ६ प्रतिशतले बढाएर ८५ करोड गर्दापनि उसको प्रतिसेयर आम्दानी (इपिएस) भने ओरालो लागेको छ ।

बैंकले ब्याज आम्दानीबाट १ अर्ब ३६ करोड, कमिसनबाट १५ करोड, विदेशी मुद्राको कारोबारबाट १७ करोड तथा अन्य संचालन आम्दानी १० करोड गरेको छ ।

नबिलले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ४१ रुपैयाँ १० पैसा छ । जबकी अघिल्लो वर्ष इपिएस ५० रुपैयाँ थियो ।

८ अर्ब चुक्ता पुँजी भएको नबिल बैंकको रिजर्बमा ६ अर्ब ९० करोड रुपैयाँ छ । असोज मसान्तसम्ममा नबिल बैंकको निक्षेप १ खर्ब २३ अर्ब तथा कर्जा प्रवाह ९४ अर्ब ९८ करोड रहेको छ ।

अघिल्लो वर्ष असोज मसान्तमा नबिलको निक्षेप १ अर्ब २० करोड तथा कर्जा ८३ करोड थियो ।

चुक्ता पुँजीमा भएको बृद्धि अनुसार नाफा नबढ्दा नबिलको पनि रिर्टन अन इक्युटी भने घटेको छ । नबिल बैंकले २३.४५ प्रतिशत छ । अघिल्लो वर्ष आरओई २७ प्रतिशत थियो ।

बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७५ प्रतिशतमा छ । यसले बैंक सहज कर्जा दिनको लागि समस्या नभएको अवस्था देखाएको छ ।

इन्भेष्टमेन्ट बैंक

त्यसैगरी निजी क्षेत्रको सबैभन्दा बढी चुक्ता पुँजी भएको नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बैंकले ७४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ र सञ्चित कोष ९ अर्ब ११ करोड छ । चुक्ता पुँजी र सञ्चित कोष निजी क्षेत्रका प्रवद्र्धकहरुद्वारा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै हो ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

३ महिना मै बैंकले ३ अर्ब २० करोड ब्याज आम्दानी गरी १ अर्ब ८८ करोड रुपैयाँ गरेको छ । यस अवधिमा बैंकले ब्याजबाट मात्रै खुद १ अर्ब ३२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

गत वर्षको तुलनामा बैंकले प्रवाह गरेको कर्जामा खराब कर्जाको मात्रा केही बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ०.७१ प्रतिशत रहेकोमा यो वर्षको पहिलो त्रैमासमा १।०४ प्रतिशत पुगेको छ ।

हिमालयन बैंक

यो बैंकले चालू आवको असोज मसान्तसम्ममा ४१ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको यसै अवधिमा बैंकले ४३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हिमालयनको गत बर्षको भन्दा यो बर्षको असोज मसान्तमा २ करोड ८२ लाख रुपैयाँले नाफा घटेको हो ।

गत वर्षको असोज मसान्तमा हिमालयनको चुक्ता पुँजी ४ अर्ब ९६ करोड रुपैयाँ थियो । यो बर्षको असोजमा यस्तो चुक्ता पुँजी बढेर ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

गत बर्षको असोजमा ९३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यो वर्षको असोजमा बैंकले ९६ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको ब्याज खर्च अत्याधिक बढ्दा नाफा प्रभावित भएको देखिन्छ । गत आर्थिक बर्षको असोजसम्ममा हिमालयनले ५० करोड ७८ लाख रुपैयाँ मात्रै ब्याज खर्च गरेको थियो भने यस बर्षको असोज मसान्तसम्मा यस्तो खर्च १ अर्ब ३६ करोड १५ लाख रुपैयाँ नाघिसकेको छ ।

एभरेष्ट बैंक

यो बैंकले चालु आर्थिक बर्षको पहिलो ३ महिनामा ५३ करोड १४ लाख खुदनाफा आर्जन गरेको छ । बैंकले प्रकाशन गरेको अपरिष्कृत वित्तीय बिबरण अनुसार अघिल्लो बर्षको पहिलो त्रैमासको तुलना यस बर्ष २ करोडले नाफा बढाएको छ । बैंकले अघिल्लो बर्षको सोही समयमा ५१ करोड १३ लाख खुदनाफा आर्जन गरेको थियो ।

अघिल्लो बर्षको पहिलो त्रैमासमा २ अर्ब ७४ करोड चुक्ता पुँजी भएको बैकले चालु आबको पहिलो त्रैमासमा ६ अर्ब ११ करोड पुर्याएको छ । जसले बैंकको प्रतिसेयर आम्दानी घटेर ३५ रुपैयाँ २२ पैसा भएको छ । अघिल्लो बर्षको सोही समयमा बैंकको यस्तो आम्दानी ७८ रुपैयाँ ३१ पैसा थियो ।

बैंकले ९९ अर्ब ३७ करोड निक्षेप संकलनगरी ८१ अर्ब ८५ करोड कर्जा प्रबाह गरेको छ भने, बैंकको खराब कर्जा ०.२६ प्रतिशत छ ।

बैंकले वित्तीय क्षेत्रमा देखिएको व्याजदरको प्रतिस्पर्धालाई मुख्य चुनौतिको रुपमा चित्रण गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीमा सिटिजन्स बैंकको नाफा घटेको छ ।

बैंकले असोज मसान्तसम्ममा ३१ करोड ९० लाख नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले असोज मसान्तसम्ममा ३४ करोड नाफा गरेको थियो ।

बैंकले अघिल्लो वर्ष नउठेको ऋण उठाउँदा नाफा ३६ करोड भएको थियो । तर, यो वर्ष नियमित संचालन नाफा बढेको छ । बैंकले ४२ करोड संचालन नाफा गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३५ करोड थियो ।

ग्लोबल आइएमइ बैंक

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ग्लोबल आईएमई बैंकको ३५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा ७ करोड रुपैयाँले कम हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ४२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्षको पहिलो त्रैमासको भन्दा यो वर्षको पहिलो त्रैमासमा बैंकले ३ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । ०७४ असोज मसान्तसम्ममा बैंकले १ खर्ब ४ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने बैंकको संचित कोष ४ अर्ब ३८ करोड रुपैयाँ छ । यो बैंकले आधा दर्जन भन्दा बढी बैक तथा वित्तीय संस्थालाई मर्ज तथा एक्वार गरी पुँजी बढाएको हो । चालु आवको पहिलो त्रैमासमा बैंकले प्रवाह गरेको कूल कर्जामा खराब कर्जा को मात्रा १.५७ प्रतिशत छ ।

एनआइसी एशिया बैंक

यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६.७५ प्रतिशतले वृद्धि गरी २७ करोड ८६ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले २६ करोड १० लाख रुपैयाँ कमाएको थियो ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ११ लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ३६ करोड २६ लाख रुपैयाँ छ ।

असोज मसान्तसम्ममा बैंकले १ खर्ब ३ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ संकलन गरी कर्जा ८६ अर्ब ७४ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ४२.१६ प्रतिशतले बढी हो ।

यस अवधिमा बैंकले ५९ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकको प्रोभिजनमा १८ करोड १४ लाख रुपैयाँ राखेको छ ।
बैंकले प्रवाह गरेको कूल कर्जामध्ये खराब कर्जाको अनुपात ०.२९ प्रतिशत छ ।

बैंकको प्रतिशेयर आम्दानी १३ दशमलव ८८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २७ दशलमव ७५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २२ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात २२ दशमल ३८ प्रतिशत छ ।

राष्ट्रिय वाणिज्य बैंक

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालू आवको असोज मसान्तमा ७० करोड नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा वाणिज्य बैंकले २० करोड रुपैयाँ नाफा बढाएको हो ।

नाफा बढाउदै गएपछि वाणिज्य बैंकले रिबर्जमा पनि ३ अर्ब ८२ करोड पुर्याएको छ ।

८ अर्ब ५८ करोड चुक्ता पुँजी रहेको वाणिज्य बैंकसँग १ खर्ब ४८ अर्ब निक्षेप छ । यो वाणिज्य बैंकहरुमा भएको सबैभन्दा बढी निक्षेप हो । बैंकले १ खर्ब ६ अर्ब कर्जा दिएको छ ।

बैंकले १ अर्ब ७४ करोड रुपैयाँ ब्याज आम्दानीबाट कमाएको छ । कमिसनबाट १२ करोड,विदेशी विनिमयबाट २ करोड ६२ लाख तथा अन्य संचालन आम्दानी १५ करोड कमाएको छ ।

सानिमा बैंक

गैरआवासीय नेपालीको मुख्य लगानी रहेको सानिमा बैंकले २५ प्रतिशतले नाफा बढेको छ । बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३४ करोड ४५ लाख रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ ।

अघिल्लो वर्षको असोज मसान्तको तुलनामा सानिमाले नाफामा २५ प्रतिशतले बढाएको हो । अघिल्लो वर्ष असोज मसान्तमा बैंकको नाफा २७ करोड थियो ।

बैंकले २५ प्रतिशतले नाफा बढाएपनि पुँजीबृद्धि अनुसार नाफा नबढेको कारण प्रति सेयर आम्दानी र रिर्टन अन इक्युटी (आरओई) घटेको छ । वित्तीय विवरण अनुसार सानिमाको इपिएस १६ रुपैयाँ ७२ पैसा छ । यस्तै आरओई १४ प्रतिशत छ ।

अघिल्लो वर्ष इपिएस २० रुपैयाँ र आरओई १६।९४ प्रतिशत थियो । बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याएको छ । एकवर्षको अवधीमा बैंकले पुँजी ३ अर्बले बढाएको हो । बैंकको रिजर्बमा १ अर्ब ४० करोड छ ।

असोज मसान्तसम्ममा सानिमा बैंकमा ६४ अर्ब निक्षेप तथा कर्जा ५७ अर्ब रहेको छ । एक वर्षको अवधीमा बैंकले १६ अर्ब रुपैयाँ निक्षेप संकलन बढाएको छ भने कर्जा १३ अर्बले बढाएको छ ।

बैंकले असोज मसान्तमा ब्याज आम्दानीबाट मात्र ५९ करोड कमाएको छ । बैंकको कर्जाको बेस रेट १०.२७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७९.१७ प्रतिशत रहेको छ । बैंकको एनपिएल ०.१४ प्रतिशत छ । यो वाणिज्य बैंकहरुमा सबैभन्दा कम हो ।

एसबिआइ बैंक

नेपाल एसबिआइ बैंकले चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ४३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ९ करोड रुपैयाँले बढी हो । गत वर्ष ३५ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।

यस अवधिमा बैंकले २ अर्ब ७ करोड रुपैयाँ ब्याज आम्दानी गरी १ अर्ब १७ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । यस अबधिमा बैंकले ८६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पुँजी ६ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेपछि बैंकलाई चुक्ता पुँजी बढाउने दाबब परेको हो । बैंकले गत वर्ष कमाएको नाफा र सञ्चित कोषमा रहेको रकमबाट बोनस र हकप्रद सेयर जारी गरी तोकिएको चुक्ता पुँजी पुर्याउने छ । बैंकको सञ्चित कोषमा ४ अर्ब ३५ करोड रुपैयाँ छ ।

ब्यवसायको आकार बढेपनि प्रतिशतका आधारमा खराब कर्जा भने स्थिर छ । गत वर्षको पहिलो त्रैमासमा ०.१३ प्रतिशत रहेको बैंकको खराब कर्जा यो वर्षको त्रैमसमा पनि ०।१३ प्रतिशत नै छ ।

एनएमबि बैंक

यो बैंकले चालु आर्थिक वर्षको ३ महिनामा १० करोड रुपैयाँले खुद नाफा बढाएको छ । असोजसम्म बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३५ करोड ३६ लाख रुपैयाँ थियो ।

बैंकको खराव कर्जा १.६७ प्रतिशत रहेको छ । पुँजीगत लागत दोब्बर बढेर ७.१४ प्रतिशत पुगेको छ । कर्जा निक्षेपबीचको ब्याज दर अन्तर ४.०९ प्रतिशत छ । अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९४ पैसा छ ।

३ महिनामा बैंकको निक्षेप परिचालन २ अर्ब रुपैयाँ घटेर ७१ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ७३ अर्ब २२ करोड रुपैयाँ थियो ।

कर्जा लगानी बढेर ६२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत असारमा ६१ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचित कोष बढेर ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक

वाणिज्य बैंकहरुमा सबैभन्दा पहिला वित्तीय विवरण प्रकाशित गर्ने बैंक सिटिजन्स हो ।

पुँजी बृद्धिको अनुपातमा नाफा बृद्धि नभएको तथा अघिल्लो वर्षभन्दा नाफा घटेको हुँदा बैंकको रिर्टन अन इक्युटी (आरओई) भने घटेको छ ।

अघिल्लो वर्ष २१.९९ प्रतिशत रहेको आरओई यो वर्ष १३.९४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी इपिएस १५ रुपैयाँ ९० पैसा रहेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले चालु आवको पहिलो ३ महिनामा २१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ३५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको नाफा करिब १४ करोड रुपैयाँले कम भएको छ ।

संभावित जोखिान ब्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता राइटब्याकमा गिरावट आएसँगै बैंकको नाफा पनि घटेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले २८ करोड ६२ लाख रुपैयाँ राइटब्याक गरेको बैंकले यो वर्षको पहिलो त्रैमासमा १७ करोड ७० लाख रुपैयाँ मात्रै राइटब्याक गरेको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले ७७ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जाको अनुपात पनि केही बढेको छ । गत वर्षको पहिलो त्रैमासमा कूल कर्जाको १.५९ प्रतिशत रहेकोमा यो वर्षको पहिलो त्रैमासमा २.०१ प्रतिशत पुगेको छ ।

एक वर्षको अवधिमा बैंकले चुक्ता पुँजी दोब्बरले बढाएको छ । गत वर्षको पहिलो त्रैमासमा ३ अर्ब ३७ करोड रहेको चुक्ता पुँजी यो वर्षको पहिलो त्रैमासमा ६ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ ।

बैंक अफ काठमाण्डू

यो बैंकले चालु आर्थिक वर्षको ३ महिनामा २२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा ५ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको असोज मसान्तमा बैंकले २७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा घटेपछि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । चालू आवको असोज मसान्तसम्ममा बैंकको इपिएस घटेर १५.९२ रुपैयाँमा झरेको छ ।

चालु आवको ३ महिनामा खराब कर्जा बढेर २ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा १.४६ प्रतिशत थियो । यस्तै बैंकको लागत ७.७८, सीडी रेसियो ७७.३९, आधार दर १०.६८ र स्प्रेड दर ३.८३ प्रतिशत छ ।

गत असारको तुलनामा बैंक निक्षेप झण्डै ३ अर्ब रुपैयाँ घटेर ६९ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा निक्षेप ७२ अर्ब १३ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि घटेको छ । असोजसम्म बैंकले ६२ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ ।

बैंकको संचित कोष बढेर ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्तापुँजी ५ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

मेगा बैंक

मेगा बैंकको खुद नाफा भने गत बर्षको असोज मसान्तको तुलनामा यो वर्षको असोज मसान्तमा उल्लेख्य रुपमा घटेको छ । यो असोजमा मेगा बैंकले ८ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिमा१४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यो वर्ष बैंकको नाफा ६ करोड ५८ लाख रुपैयाँले घटेको हो ।

यो अवधिमा बैंकको चुक्ता पुँजी झन्डै १ अर्ब रुपैयाँले बढेको छ । गत वर्षको असोजमा ३ अर्ब २४ करोड रुपैयाँ रहेको चुक्ता पुँजी यो असोजमा ४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

बैंकले गत बर्षको असोज मसान्तमा ३६ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको थियो । त्यस्तै, यो वर्षको असोज मसान्तसम्ममा ३९ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको ब्याज खर्च अत्याधिक बढ्दा नाफा प्रभावित भएको देखिन्छ । गत बर्षको असोजमा ३७ करोड ६ लाख रुपैयाँ मात्रै ब्याज खर्च गरेको मेगाले यो बर्षको असोज मसान्तसम्मा ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढी ब्याज खर्च गरिसकेको छ ।

सनराइज बैंक

यो बैंकको नाफा ५ करोड रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तमा २५ करोड ३१ लाख नाफा कमाएको बैंकको यो असोज मसान्तमा २० करोड ३७ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।

यो असोजमा बैंकले ६० अर्ब निक्षेप संकलन गरी ५४ अर्ब कर्जा प्रवाह गरेको छ । उक्त कारोबारबाट बैंकले १ अर्ब ६८ करोड ब्याज आम्दानी र १ अर्ब १६ करोड ब्याज खर्च गरेको छ ।

यो बैंकको खराब कर्जा १.४९ प्रतिशत रहेको छ भने १५ करोड प्रोभिजन गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.९९ रुपैयाँथा प्रतिसेयर नेटवर्थ १२१.०६ पैसा छ ।

प्राइम बैंक

यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा बढाउन सफल भएको छ । बैंकले असोजसम्म ३४ करोड १७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा बैैंकले २५ अर्ब १० करोड रुपैयाँ मात्र नाफा गरेको थियो । बैंकको झण्डै १० करोड रुपैयाँ नाफा बढेको छ ।

गत असारको तुलनामा बैंकको खराव कर्जा अनुपात बढेर १.३७ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा ०.७८ प्रतिशत थियो । यस्तै पुँजीगत लागत बढेर ८.२२ प्रतिशत पुगेको छ । गत असारमा ८.१५ प्रतिशत थियो ।

बैंकको निक्षेप कर्जा अुनपात ७५.७० प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २१ रुपैयाँ ६१ पैसा छ । गत असारमा ईपीएस २३ रुपैयाँ २४ पैसा थियो । चालु आवको असोज मसान्तसम्ममा बैंकले ६८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको संचित कोष बढेर ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ३२ करोड रुपैयाँ छ ।

जनता बैंक

यो बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा खुद नाफा ९ लाख रुपैयाँले बढाएको छ । असोजसम्म बैंकले ६ करोड ४८ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ ।अघिल्लो आवको सोही अवधिमा बैंकको खदनाफा ६ करोड ३९ लाख रुपैयाँ थियो ।

चुक्ता पुँजी बढेको तर नाफा नबढेकाले बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ । असोज मसान्तमा बैंकको ईपीएस ३ रुपैयाँ ७१ पैसामा सीमित भएको छ । गत आवको असारसम्म बैंकको ईपीएस ९ रुपैयाँ १८ पैसा थियो ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.६५ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको यस्तो कर्जा २ प्रतिशत थियो । यस्तै बैंकको पुँजीगत लागत दोब्बर बढेर ७.९ प्रतिश पुगेको छ । गत आवको सोही अवधिमा यस्तो लागत ४.३० प्रतिशत थियो ।

बैंकमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७३.२६, कर्जा र निक्षेपबीचको ब्याज दर अन्तर (स्प्रेड) ३.७२ र आधार ब्याज दर साढे ११ प्रतिशत छ । बैंकको संचित वचत १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ छ । बैंकको चुक्तापुँजी ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ छ ।

असोजसम्म बैंकले ५२ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


पुष्प दुलाल