टुँडिखेलमा नेताहरुले बोल्दा होहल्ला गरेपछि पक्राउ परेकालाई रिहा गर्न रास्वपाको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले गौरा पर्वमा टुँडिखेलमा आयोजित कार्यक्रममा बिरोध गरेको भन्दै युवाहरुलाई अराजकशैली भनेर पक्राउ गर्नु गलत भएको बताए ।

युवाहरुका बिरोधका बोली सरकारले सुन्नुपर्ने उनको भनाइ छ ।

स्वदेशमा अवसर र रोजगारीबाट वञ्चित युवाहरुले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गरेको भन्दै सो कारण समाउन नपाइने बताए । उनले युवाहरुलाई त्रसित नबनाउन पनि आग्रह गरे ।

उनले विभिन्न जिल्लामा स्टाटस लेखेको भरमा युवाहरुलाई समातिएको भन्दै यस्तो रवैया नदेखाउन सरकारलाई चेतावनी दिए ।

गौरा पर्वको अवसर आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दा बिरोधमा नाराबाजी भएको थियो ।


क्लिकमान्डु