सेयर बजार बढ्दा बजार चलायमान भइरहेको छ, सांसदले यो कम्पनी किन, नकिन भन्न मिल्दैन: सांसद ढकाल



काठमाडौं । सांसद हरि ढकालले सेयर बजार बढेपछि रेष्टुरेन्ट चल्न थालेको, गाडीको बुकिङ बढेको, न्यूरोडमा भीडभाड बढन् थालेको बताएका छन् ।

प्रतिनिधि सभाका बैठकमा उनले बजार बढ्दा सबै क्षेत्र चलायमान भइरहेको बताए ।

बजार बढिरहेको समयमा संसदमा नै सांसदले यो कम्पनीको सेयर किन वा नकिन भन्न नहुने बताए । सांसदले बजारमा भन्दा पनि नीति नियममा निगरानी राख्नुपर्ने उनले बताए ।

बजारका ६६ लाख लगानीकर्ताको लगानी सुरक्षित हुनुपर्ने उनको तर्क छ । त्यसका लागि आएका नीति नियम कार्यान्वयनमा जोड दिनु पर्ने ढकालले सुझाव दिए ।

धितोपत्र बोर्डमा विगत ८ महिनादेखि अध्यक्ष नहुँदा बजार असरल्ल परेको उनले बताए । बजारले नयाँ गति लिन लागेको समयमा बोर्डमा अध्यक्ष नहुँदा धेरै असर परेको ढकालले बताए ।

८ महिनासम्म सरकारले बोर्डमा अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै तत्काल अध्यक्ष नियुक्त गर्न उनले माग गरे । विधेयकमा ब्रोकरमार्फत मार्जिन लेन्डिङ सेवा दिने व्यवस्था हुनु सकारात्मक भएको उनले बताए । यसले लगानीकर्तालाई थप उत्साहित बनाउने बताए ।

जीडीपी र पुँजीकरणका विषयमा बजारमा अनावश्यक चर्चा हुने गरेको सांसद ढकालले बताए । पुँजीकरण जीडीपी नजिक पुग्न नहुने भन्दै चर्चा हुने गरेको उल्लेख गरे ।

उनले अहिले बजारको पुँजीकरण करिब १६, १७ खर्ब मात्रै हुने गरेको भन्दै यो विषयमा तत्काल अर्थ मन्त्रालयले कार्यदल बनाएर नेप्से र सेबोनलाई राखेर हाम्रो रियल पुँजीकरण कति हो त्यो प्रस्तुत गर्न माग गरे ।

बजार मास मनोविज्ञानले चल्ने गरेको भन्दै उनले ऐन कानुन बनाउनेहरुले पनि बोल्दा सोच्ने समय आएको बताए ।


क्लिकमान्डु