संसद्‍मा सुमनाको प्रश्न: प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ?



काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदसमेत रहेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा सत्तारुढ दलका कार्यकर्ताहरूको त्रासले पदाधिकारी कार्यकक्षमा जान नसक्ने अवस्थाको कारक प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद श्रेष्ठले प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्नसमेत उठाइन् ।

श्रेष्ठले विद्यालय र विश्विद्यालयमा पार्टी चाहिन्छ भन्दै लबिङ गर्ने कामको नेतृत्व ओलीले गरेको उनको आरोप छ ।

‘शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रूपमा बोल्दै हिँड्ने, दलगत हुनुपर्छ राजनीति चाहिन्छ, शिक्षक/प्राध्यापकहरूले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री,’ श्रेष्ठले भनिन्, ‘जरोमा पनि उही, टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ?’

आफूले स्कुलमा बलभन्दा विद्या ठूलो भनेर अध्ययन गरेको भए पनि अहिले विश्वविद्यालयहरुको अवस्था हेर्दा बलभन्दा विद्या ठूलो नभइ बलभन्दा दल ठूलो भएको बताइन् ।

त्रिवि लगायतका विश्वविद्यालय र स्कुल/कलेजमा राजनीति घुसाउँदाको परिणाम शिक्षामन्त्रीले गृहमन्त्रीलाई विश्वविद्यालयका पदाधिकारीको सुरक्षा गरिदिनु भनेर सामाजिक सञ्जालमा लेख्नुपर्ने अवस्था आएको श्रेष्ठले बताइन् ।

‘विभागीय प्रमुखको पदका लागि यो दलीय राजनीतिकरणले देखाएको, निम्त्याएको दुर्दशा हो । यो त्यतिमा मात्रै सीमित रहँदैन । विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपनर्ने त्यो मन्त्रिपरषिद्को कप्तान को ? प्रधानमन्त्री । दलीय राजनीतिले जर्जर बनाएको प्राध्यापक, विद्यार्थीको संगठनको दिशा दिन्छु भनेर हाँक्ने को प्रधानमन्त्री’ श्रेष्ठले भनिन्।

एमाले निकटको विद्यार्थी संगठन अनेरास्वियुका नेताले सरश्वती क्याम्पसमा चिट चोराउन नदिएको भन्दै परीक्षा नियन्त्रकलाई कुटेको समाचार बाहिरिएको उनले बताइन्न ।

प्रधानमन्त्री ओलीले युवाहरूलाई स्वदेशमा नै बस्ने व्यवस्था बनाउनुपर्ने भनी अभिव्यक्ति दिइरहेको तर व्यवहारमा शिक्षा क्षेत्रमा राजनीति घुसाएको र त्यहाँ गुन्डागर्दी गर्ने आफ्ना कार्यकर्ताहरूलाई संरक्षण गरिरहेको उनले आरोप लगाइन् ।


क्लिकमान्डु