ग्यास बिक्रेतालाई नियमन दायरामा ल्याइँदै, ३ महिनाभित्र प्रमाणीकरण नगरे बिक्री गर्न नपाइने



काठमाडौं । सरकारले ग्यास बिक्रेता र वितरकलाई तीन महिनाभित्रमा प्रमाणीकरण दायरामा आउन निर्देशन दिएको छ ।

यस्तो प्रमाणीकरण दायरामा नआएका विक्रेता र वितरकलाई बिक्री बितरणबाट वञ्चित गरिने सरकारको योजना छ । नेपाल आयल निगम, एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघको बीचमा भएको छलफलले बिक्रेता प्रमाणीकरण नगरी ग्यास बिक्री गर्न नपाइने निर्णय गरेको छ ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेका अनुसार छलफलले बिक्रेता प्रमाणीकरणका गरिसक्नुपर्ने अवधीसमेत तोकेको छ । भदौ १ गतेदेखि आगाामी कात्तिक १ गतेभित्र प्रमाणीकरणको दायरामा बिक्रेता र वितरक आइसक्नुपर्ने अवधी तोकिएको छ।

‘डिलर प्रमाणीकरण गर्ने बिषयमा लामो समयदेखि छलफल भइरहेको थियो, यसअघि बाणिज्य विभागले प्रमाणीकरण गर्ने प्रक्रिया सुरु गरे पनि त्यो बीचमै रोकिको थियो, निगमको निर्देशनअनुसार भदौ १ गतेदेखि प्रमाणीकरण प्रक्रिया पुनः सुरु गरेका छौं,’ घिमिरेले भने, ‘मापदण्डभित्र नआउने डिलरहरु स्वतः यो व्यवसायबाट हट्नेछन् । एउटा बिक्रेताले दुईभन्दा बढी कम्पनीको ग्यास बिक्री गर्न पाउने छैनन् ।’

ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र थापाले विगतमा केही समय लागु भएर बन्द रहेको बिक्रेता प्रमाणीकरणको अवधारणा मंसिर १ गतेबाट पूर्णरुपमा लागु हुने गरी निर्णय भएको जानकारी दिए ।

विभिन्न कारणले बजारमा पुराना सिलिन्डरहरू आउने र त्यसले जोखिम सिर्जना गरेको भन्दै उनले यो प्रमाणीकरणपछि पुराना र कुच्चिएका सिलिण्डरहरु उद्योगमा फिर्ता गर्ने निर्णय पनि उक्त छलफलले गरेको जानकारी दिए ।

प्रमाणीकरणको दायरामा आएका बिक्रेताहरु अनिवार्य रुपमा कम्पनीको आधिकारिक डिलर हुनुपर्ने, स्थानीय निकाय लगायत सरकारी निकायको नियमन दायरामा सूचीकृत हुनुपर्ने, एउटा बिक्रेताले दुईवटा कम्पनीको मात्रै ग्यास राख्नुपर्ने, फायर फाइटिङ मेसिनसहित सुरक्षाका सामग्री राख्नुपर्ने, जोख्ने तराजु राख्नुपर्ने, ग्यासको पसल छुट्टै हुनुपर्ने लगायतका मापदण्ड पुरा गर्नुपर्नेछ ।


क्लिकमान्डु