कर्जाको ब्याजदर एक वर्षमै २.३७ प्रतिशतले घट्यो



काठमाडौं । एक वर्षमा कर्जाको ब्याजदर भारी मात्राले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकबाट प्रवाह भएको कर्जाको भारित औसत ब्याजदर २.३७ प्रतिशत बिन्दुले कम भएको हो ।

केन्द्रीय बैंकले आइतबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जाको ब्याजदर एक वर्षमा १२.३० बाट घटेर ९.९३ प्रतिशत कायम भएको हो । यसैगरी विकास बैंकबाट प्रवाह भएका कर्जाको औसत ब्याजदर १४.१ प्रतिशतबाट ११.३४ प्रतिशत र वित्त कम्पनीबाट प्रवाह भएका कर्जाको औसत ब्याजदर १४.८२ प्रतिशतबाट १२.५५ प्रतिशत कायम भएको छ ।

कर्जाको ब्याजदर घट्नुको कारण हो, आधार दरमा कमी आउनु । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.०३ प्रतिशतबाट घटेर ८ प्रतिशत कायम भएको छ । यसैगरी २०८० असारमा विकास बैंकहरुको औसत आधार दर १२.१५ प्रतिशत र वित्त कम्पनीहरुको १३.४१ प्रतिशत रहेकोमा २०८१ असारमा उनीहरुको औसत आधार दर क्रमशः ९.७१ प्रतिशत र ११.२१ प्रतिशत कायम भएको छ ।

कर्जाको ब्याजदर घट्दा निक्षेपको ब्याजदरमा पनि भारी गिरावट आएको छ । २०८० असारमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.८६ प्रतिशत, विकास बैंकहरुको ९.१४ प्रतिशत र वित्त कम्पनीहरुको ९.७९ प्रतिशत रहेकोमा २०८१ असारमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः ५.७७ प्रतिशत, ६.६३ प्रतिशत र ७.९३ प्रतिशत कायम भएको छ ।


क्लिकमान्डु