बीवाईडी अब पाकिस्तानमा पनि, २ वर्षपछि आफ्नै फ्याक्ट्री खोल्ने



एजेन्सी । विशेषगरी एक वर्षयता बीवाईडीले आफ्नो विश्व बजार तीब्र रुपमा विस्तार गरिरहेको छ । यससँगै अब बीवाईडीले मुस्लिम बाहुल्य देश पाकिस्तानलाई पनि आफ्नो बजार बनाउन थालेको छ । जुन जनसंख्याको हिसावले विश्वको पाँचौं ठूलो देश पनि हो।

बीवाईडीले यही अगस्ट १७ मा पाकिस्तानमा आफ्नो ब्रान्ड कन्फ्रेन्स गर्दै त्यहाँ आफ्ना तीन वटा मोडेल प्रदर्शन गरेको छ । जुन मोडेल उसले यस बजारमा विक्री गर्ने योजना बनाएको छ । यी मोडेलमा एसयूभी र सेडान रहेको बताइएको छ ।

साथै यी तीन कारमध्ये सबैभन्दा धेरै सम्भावना रहेका कारमध्ये एट्टो ३एसयूभी, डल्फिन स्मल हेचब्याक र सील सेडान रहेको बुझिएको छ ।

बीवाईडीको योजना सम्बन्धी जानकारहरुका अनुसार भविष्यमा अटो बजारमा अल ईभी र प्लग इन हाइब्रिड इलेक्ट्रिक गरी दुबै मोडेल विक्री गर्ने बीवाईडीको योजना रहेको छ ।

पाकिस्तानको बजारका लागि बीवाईडीले मेगा कंग्लोमेरेट कम्पनीसँग सहकार्य गरेको छ। जुन कम्पनी पाकिस्तानको सबैभन्दा ठूलो निजी व्यवसायिक समूहको रुपमा चिनिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानमा बीवाईडीको विक्री यस वर्षको चौथो त्रैमासिक अवधिमा सुरु हुने र यसको पहिलो शोरुम कराँची, लाहोर र इस्लामाबादमा स्थापना गरिने पनि बताइएको छ ।

यसैबीच बीवाईडीले पाकिस्तानमा २०२६ देखि आफ्नै कारखाना बनाएर त्यहीँबाट उत्पादन गर्ने योजना पनि बनाएको निकटस्थहरुले बताएका छन् । यद्यपि बीवाईडीले पाकिस्तानमा आफ्नै कारखाना खोल्ने विषय इन्कार गरेको छ ।

पाकिस्तान अटो बजारका लागि एक आकर्षक देश मानिन्छ । तर गत वर्ष स्थानीय रुपमा निर्मित सवारी साधनहरुको विक्री संख्या ८५ हजारभन्दा धेरै थियो । जुन अघिल्लो वर्षको तुलनामा ६३ प्रतिशत कम हो । साथै प्यासेन्जर कारको संख्यामा भने कुल विक्रीको लगभग आधा नै छ ।

यससँगै पाकिस्तान सरकारले २०३० सम्ममा नयाँ कार विक्रीमध्ये ३० प्रतिशत कार विद्युतीय सवारी पुर्‍याउने लक्ष्य राखेको छ । जवकि ग्रेट वाल मोटर, चाङगान जस्ता चिनियाँ कम्पनीहरु पाकिस्तानी बजारमा पहिले नै प्रवेश गरिसकेका छन् ।


क्लिकमान्डु