रास्वपाले सोधेको स्पष्टीकरणमा मुकुल ढकालको जवाफ: रवि लामिछानेमाथि लगाएका ३ आरोप



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जबाफ दिएका छन् ।

रास्वपाले ढकाललाई ‘तपाईंलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने?’ भनेर २४ स्पष्टीकरण मागेको थियो ।

स्पष्टीकरणमा ढकालले पार्टी सभापति रवि लामिछानेमाथि विभिन्न आरोप लगाएका छन् ।

पार्टी सभापतिलाई सम्बोधन गरी आफूमाथि गरिएको भनिएको कारवाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु लाछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट हुने उनको भनाइ छ ।

आजसम्म आफूले पार्टी सभापति लामिछाने वा अन्य कुनै पनि नेतालाई झुटो आरोप नलगाएको र ती सबै सत्यमा आधारित रहेको उनको भनाइ छ ।

लामिछानेले आफूमाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्ने उल्लेख गरेका छन् । नैतिक रूपले पतित नभएको भए आफ्ना प्रश्नहरुको जवाफ दिन उनले आग्रह गरेका हुन् ।

यस्ता छन् ढकालले स्पष्टीकरणमार्फत लामिछानेमाथि सोधेका प्रश्न

१) सहकारी ठगी मुद्दामा तपाईं माथि पार्टीबाट स्वतन्त्र छानविन समिति किन गठन नहुने ? तपाईंले आजको दिन सम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक पटक ढाँट्नु भएको छ । म स्वयंले पनि तपाईंको ढाँटलाई सत्य मानेर बसिरहेको थिए तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईंमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ । सर्वोच्च अदालतको फैसलालाई तपाईं मान्ने कि नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने आँट छ ? रवि लामिछाने ज्यू ?

२) तपाईंले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ । आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो, घाम झैँ छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ । विद्यमान ऐन कानुन अनुसार तपाईं मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ । तपाईंले विगतमा गरेको अपराधका लागी पार्टी बलि चढ्नु पर्ने ? आँट छ भने, आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?

३) नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईंले गृह मन्त्रालय समाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नु भयो, जनता र पार्टीका साथीहरूलाई स्पष्ट पार्नुहोस् । का.स.मु.मा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्नु भयो, त्यो भ्रष्ट्राचारको सङ्केत होइन ? आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरूको बैड स्टेटमेन्ट सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?

उल्लिखित प्रश्न बाहेक पनि थुप्रै प्रश्नहरू बाँकी नै छन् । समीक्षा प्रतिवेदनमार्फत पनि कैयन प्रश्नहरू जनताले तपाईंलाई सोधेका छन् । जनताका यी सबै प्रश्नको जवाफ दिने आँट गर्नुहोस् । आफूमाथि लागेका आरोपउपर निष्पक्ष स्वतन्त्र छानबिन समिति गठन गर्ने आँट गर्नुहोस् ।

आज पार्टीको छवि, मेरा कारणले नभई तपाईंको कारणले धुमिल हुँदै गएको छ । नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बिउ तपाईंका कारणले नाश हुँदै गइरहेको छ । पार्टी जोगाउने मौका दिनुहोस् । वैकल्पिक राजनीति अघि बढाउन, मार्ग प्रशस्त गरिदिनुहोस् । पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु । तपाईंले प्रत्येक पटक भाषण गरेका कुरा आज व्यवहारमा देखाइदिनुहोस् ।

अन्त्यमा स्मरण रहोस् मैले पार्टी स्थापना भए देखि पार्टीलाई हानी हुने, पार्टीका शुभचिन्तकलाई भड्काउने, पार्टी भित्र भ्रम सिर्जना गर्ने, पार्टीका नेताहरू माथि झुटा आरोप लगाउने जस्ता क्रियाकलाप गरेको छैन र गर्ने पनि छैन । पार्टी स्थापना हुनु अगाडी बाट नै वैकल्पिक शक्तिको रूपमा पार्टीलाई उभ्याउन लागिरहेको थिए, लागिरहेको छु र लागिरहने छु ।


क्लिकमान्डु