सहकारीको सवा ६ करोड ठगेर बराह ज्वेलरीका अध्यक्ष फरार
काठमाडौं । बराह ज्वेलरी इन्डस्ट्रिजका अध्यक्ष शिव कुमार विश्वकर्मा (लामिछाने) सहकारी ठगी प्रकरणमा फरार रहेका छन् ।
अभिमत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका विश्वकर्मासहित ७ जना १८ बचतकर्ताको ६ करोड २० लाख १४ हजार ८४१ रुपैयाँ ठगेर फरार रहेका हुन् । प्रहरीले अहिलेसम्म १ जनालाई पक्राउ गरेको छ । अध्यक्ष लामिछानेसहित ६ जना भने फरार रहेका छन् ।
उच्च ब्याजदर दिने प्रलोभनमा १८ जना बचतकर्ताको ६ करोड २० लाख १४ हजार ८४१ रुपैयाँ ठगी गरेका छन् । बचतकर्ताको बचत ठगेर फरार हुनेमा काठमाडौं महानगरपालिका–२२ न्यूरोड स्थित बराह ज्वेलरी इन्डस्ट्रिजका अध्यक्ष तथा सहकारीका अध्यक्ष विश्वकर्मा, सहकारीका सचिव संखुवासभा चैनपुर नगरपालिका–२ का पाभेल उदास, उपाध्यक्ष झापा बद्धशान्ति गाउँपालिका–२ का अमर प्रसाद खाती रहेका छन् ।
सहकारीको कोषाध्यक्ष झापा बुद्ध शान्ति गाउँपालिका–२ का विकास लामगादे, सहकारी सदस्यहरु सुनसरीको धरान उपमहानगरपालिका–११ का मिलन लामिछाने, इटहरी उपमहानगरपालिका–५ का सुमन बराईली पनि फरार रहेका छन्।
सहकारीको सदस्य रहेका इलाम जिल्ला सूर्योदय नगरपालिका–१२ का बिक्रम गजमेर भने पक्राउ परेका छन् । सहकारीले बचतकर्ताको रकम ठगेर अहिले कार्यालय बन्द गरेर फरार रहेको बचतकर्ताको गुनासो छ ।
सहकारीको उक्त पैसा बराह ग्रुप अफ कम्पनी, बराह बचत तथा ऋण सहकारी संस्था मार्फत ठगी गरेको पाइएको छ ।
सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारीले बचतकर्ताको आठ अर्ब बढी रुपैयाँ ठगी गरेको छ । बचतकर्ताको रकम बराह ग्रुपको नाममा धरान, चितवन, भेडेटार, काडमाडौं, पोखरा, हङकङलगायत स्थानमा लगानी गरेको छ । बराह ग्रुपका अध्यक्ष शिव लामिछाने र सहकारीका अध्यक्ष मानबहादुर दियाली रसहेका छन् ।
बचतकर्ताले बचत फिर्ता पाउनु पर्यो भन्दै आन्दोलन गर्दै आएका छन् । बचतकर्ताको बचत फिर्ता नगरेपछि बराह ग्रुपअन्तर्गत सबै कम्पनी तथा फर्मको सम्पूर्ण सम्पत्ति रोक्का रहेको छ ।
बराह कृषि तथा पशुपालन प्रालि, बराह फेमेली किचन धरान, बराह मल्टिप्रपोज कम्पनी प्रालि भेडेटार, बराहको नाममा रहेको बैंक खाता लगायत सबै सम्पत्ति रोक्का रहेको छ ।