उद्योगमा बिजुली जोड्न निर्देशन दिएजस्तै महसुल उठाउन प्रधानमन्त्रीले निर्देशन दिनुपर्छ: सांसद ढकाल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उद्योगहरूबाट बिजुलीको अर्बौं रुपैयाँ बक्यौता उठाउने विषयमा प्रधानमन्त्रीले निर्देशन दिनु्पर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै ढकालले उद्योगीहरूको बिजुलीको लाइन जोड्न निर्देशन दिएजस्तै महशुल उठाउन प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने बताए ।

‘विद्युत महसुलका विषयमा समितिमा व्यापक छलफल गरिएको छ । तिर्नुपर्ने उद्योगीहरुले तिर्नुपर्दैन भनेको पनि छैन,’ उनले भने, ‘ प्रधानमन्त्रीज्यूले जसरी बिजुलीको लाइन जोड्न निर्देशन दिनु भएको थियो त्यसै गरि महसुल उठाउन निर्देशन दिनुपर्‍यो।’

मिटर जोडिएको ठाउँको महसुल उठाउन यस्तो हालत छ भने देशमा मिटर नभएका भन्सार, मालपोतको हालत के छ भन्दै उनले प्रश्न गरे ।

उनले प्रतिपक्षीको आवाज कमजोर नभएको भन्दै भ्रष्टाचारबिरोधी महाअभियानमा रास्वपाले निरन्तर आवाज उठाउने बताए ।

यसअघि ढकालले विद्युत महसुलबारे बोल्न थाल्दा सभामुख देवराज घिमिरेले माइक काटिदिएका थिए । करिब २० मिनेटको रास्वपाको बिरोधपछि पुन: सांसद ढकालले आफ्ना कुरा राखेका थिए ।


क्लिकमान्डु