स्वास्थ्य बीमालाई ५ लाख बनाउने स्वास्थ्य मन्त्रीको योजना, सुगर ट्याक्स लगाएर रकम संकलन गरिने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हाल नेपाल सरकारले दिँदै आएको १ लाख रुपैयाँको स्वास्थ्य बीमालाई कम्तिमा ५ लाख रुपैयाँको बनाउने योजना सार्वजनिक गरेका छन् । बीमाको हालको दायरा कम्तिमा ५ लाख बनाउने गरी फराकिलो बनाउन, सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रियालाई सहज बनाउने गरी बिमाको दायरा फराकिलो गर्दै जाने पौडेलले सार्वजनिक गरेको कार्ययोजनामा उल्लेख छ ।

पौडेलले स्वास्थ्य बिमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाईसमेत अनिवार्य स्वास्थ्य बिमामा समेट्न, आम्दानीको आधारमा प्रमियम र सह भुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन स्वस्थ्य बिमाको नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने पनि उल्लेख गरेका छन् ।

पौडेलले स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कार्यक्रममा पनि बिमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरेर रियल टाइम दाबी गर्ने व्यवस्था लागू गर्ने बताएका छन् । स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध स्वास्थ्य संस्थामा बिरामीले तिर्नुपर्ने शुल्कमा एकरुपता ल्याउने, स्वास्थ्य संस्थामा अनावश्यक चिजलाई निरुत्साह गर्न स्वास्थ्य बिमा कार्यक्रममा सहभुक्तानीको व्यवस्था गर्ने पनि उल्लेख छ ।
स्वास्थ्य बिमाको लागि स्रोतको सुनिश्चितता गरिने छ । यसका लागि सरकारले सुगर ट्याक्स लगाउने स्वस्थ्यमन्त्री पौडेलको कार्यायोजनाामा उल्लेख छ । कार्ययोजना अनुसार निश्चित मात्रा भन्दा बढी चिनीजन्य पदार्थ प्रयोग हुने खाद्य तथा पेय पदार्थमा अनिवार्य सुगर ट्याक्स लगाउने र संकलित रकम स्वस्थ्य बिमामा उपलब्ध गराइने मन्त्री पौडेलको कार्ययोजनामा उल्लेख छ ।
आकस्मिक बाहेक निःशुल्क उपचारका सबै कार्यक्रमलाई बिमामा आबद्ध गरेर उपारचामा लागि बीमाले पैसा तिर्ने र नागरिकले खर्च गर्नु नपर्ने व्यवस्थालाई कार्यान्वयन गराउने योजना पनि मन्त्री पौडेलको छ ।


क्लिकमान्डु