बंगलादेशी प्रधानमन्त्री भागेपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द



बंगलादेशी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेपछि ठूलो संख्यामा मानिसहरु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदा सेनाले ६ घण्टाको लागि विमानस्थल बन्द गराएको छ ।

एजेन्सी । बंगलादेशमा उत्पन्न राजनीतिक संकटका बीच त्यहाँको सेनाले राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द गराएको छ ।

शेख हसिनाले राजीनामा दिँदै देश छाडेर भागेपछि सेनाले अन्तरिम सरकार बनाउने भन्दै राज्यसत्ताको जिम्मेवारी लिएको छ ।

सोमबार सेना प्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्दै राजधानी ढाकामा रहेको हजरत सहजलाल अन्तर्राष्ट्रिय रंगशाला साँझ ६ बजेदेखि बन्द गराएका हुन् । यससँगै विमानस्थलका सबै नियमित कामकारबाही पनि बन्द गराइएको छ ।

शेख हसिना देश छाडेर भागेपछि मानिसहरु विमानस्थलतर्फ जान थालेका छन् । ठूलो संख्यामा प्रदर्शनकारीहरुले हसिनाको सरकारी निवास घेराउ गर्दै तोडफोड गर्न थालेपछि उनी भागेकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शेख हसिनाले भाग्नुअघि देशका नाममा सम्बोधन गर्न चाहेकी थिइन्। तर प्रदर्शन चर्किँदै गर्दा सुरक्षा खतरा बढेपछि उनी भागेर भारत पुगेको बताइएको छ ।

यसैबीच बंगलादेशमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि नेपाल सरकारले पनि ढाकास्थित दूतावासमार्फत् त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रहन आह्वान गरेको छ । सोमबार सूचना जारी गर्दै दूतावासले नेपालीहरुलाई प्रदर्शन स्थलमा नजान आग्रह गरेको छ । चिकित्सा, इन्जिनियरिङ लगायत विषयमा अध्ययन गर्न उल्लेख्य संख्यामा नेपाली विद्यार्थीहरु बंगलादेशमा रहँदै आएका छन् ।


क्लिकमान्डु