बंगलादेशमा प्रधानमन्त्री निवास प्रवेश गरे आन्दोलनकारी, भागिन् हसिना



काठमाडौं । १५ वर्षदेखि शासन सत्ता हाँकिरहेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको छ । आरक्षणविरुद्ध केही समयअघि सुरु भएको आन्दोलन उग्र बन्दा हसिना सरकार ढलेको हो ।

प्रदर्शनकारीले सोमबार सबैभन्दा ठूलो मार्चपास गरेका थिए । आन्दोलनकारीहरु प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेको भिडियो फुटेजहरु देख्न सकिने बीबीसीले जनाएको छ ।

ढाकामा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारी प्रवेश गरेका हुन् जबकी हजारौं विद्यार्थीले प्रधानमन्त्रीको घरमा ढुंगामुढा गरेका थिए । त्यसपछि हसिना देश छाडेर भागेकी हुन् । उनी हेलिकप्टर चढेर भारततर्फ गएको बीबीसी बांग्लाले जनाएको छ ।

गत जुलाइदेखि विद्यार्थीहरुले आरक्षण व्यवस्था खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका थिए । तर आन्दोलनकारीलाई हसिनाले देशद्रोही भनेपछि उनीहरु क्रुद्ध बनेका थिए ।

हिंसात्मक बनेको आन्दोलनमा अहिलेसम्म करिब ३ सय मानिसको मृत्यु भइसकेको छ । उनीहरुले शेख हसिनाको राजीनामा मागिरहेका थिए ।

यसैबीच आक्रोशित प्रदर्शनकारीहरुले बंगलादेशका पिता भनेर चिनिने शेख मुजिबको शालिक समेत भत्काएका छन् । आन्दोलनकारी एक युवक शालिकमा चढेर त्यसको अनुहारमा घनले हिर्काउँदै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

शेख मुजिब बंगलादेशको स्वतन्त्रता आन्दोलनका प्रमुख नेता थिए । भाषा, संस्कृति, पहिचान लगायत विषयलाई लिएर पाकिस्तानबाट बंगलादेश अलग हुने क्रममा त्यस आन्दोलनको नेतृत्व शेख मुजिबले नै गरेका थिए । पछि शेखको हत्या भएपछि उनकी छोरी शेख हसिना राजनीतिमा सक्रिय भएर देशको प्रधानमन्त्री बनेकी थिइन् ।

१९९० पछि राजनीतिक दल खोलेर सक्रिय राजनीतिमा लागेकी हसिना निरन्तर सत्तामा छिन् । पछिल्लो समय भारत, चीन लगायत देशहरुसँग सम्बन्ध गहिरो बनाउँदै अर्थतन्त्र बलियो बनाउने प्रयास गरे पनि आन्तरिक रुपमा सुशासनलाई बेवास्ता गरेको भन्दै शेख हसिना बंगलादेशमा अलोकप्रिय बन्दै आएकी थिइन् ।


क्लिकमान्डु