१३ बैंकले निष्क्रिय कर्जालाई नियन्त्रणमा राख्न सकेनन्, एनआईसीसहित ४ बैंकको वृद्धि उच्च



काठमाडौं । सञ्चालनमा रहेका २० मध्ये १३ वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको छ । ७ बैंकमात्र निष्क्रिय कर्जा घटाउन सफल रहँदा अरु बैंकहरु भने अर्थतन्त्रको सुस्ततासँगै छाएको व्यावसायिक सिथिलथाको मार भोग्न बाध्य भएका हुन् ।

अर्थतन्त्रमा सुस्तता छाउँदा बैंकहरुले प्रवाह गरेको कर्जाको सावाँब्याज नियमित हुन छाडेको यो तथ्यले उजागर गर्दछ ।

सोमबार बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कुमारी, हिमालयन, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई र एभरेष्ट बैंकले मात्र निष्क्रिय कर्जा घटाएका छन् ।

पछिल्लो विवरणअनुसार २० बैंकमध्ये ३ बैंकको निष्क्रिय कर्जा ४.९ प्रतिशतभन्दा बढी छ । यसैगरी अरु ५ बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा बढी छ । ३ देखि ४ प्रतिशतको बीचमा निष्क्रिय कर्जा रहेका बैंकको संख्या ७ छ भने २ देखि ३ प्रतिशतको बीचमा रहेका बैंकको संख्या ३ छ । सानिमा बैंकको निष्क्रिय कर्जाको मात्र कल कर्जाको १.३१ प्रतिशतमा हुँदा एभरेष्टको मात्रै ०.७१ प्रतिशत छ ।

निष्क्रिय कर्जा सबैभन्दा बढी बढाउने बैंक एनआईसी एशिया हो । बैंकको निष्क्रिय कर्जाको आकार ०.८८ प्रतिशतबाट २.५३ प्रतिशत बिन्दुले बढेर ३.४१ प्रतिशत कायम भएको छ । लक्ष्मी सनराइज, माछापुच्छ्रे र ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा पनि १ प्रतिशत बिन्दुभन्दा बढीले वृद्धि भएको छ ।

यसरी बैंकको निष्क्रिय कर्जाको साधारण औसत ३.०१ प्रतिशतबाट ३.५४ प्रतिशत पुगेको देखिन्छ । भारित औसत भने फरक पर्न सक्छ ।


क्लिकमान्डु