निष्क्रिय कर्जा र प्रोभिजनले गर्दा एनआईसी एशियाको नाफा खस्कियो, लाभांश बाँड्न नसक्ने



काठमाडौं । निष्क्रिय कर्जा बढेपछि एनआईसी एशिया बैंकको वित्तीय परिसूचक कमजोर देखिएका छन् । निष्क्रिय कर्जासँगै नोक्सानी व्यवस्था बढाउनु परेपछि बैंकको नाफा ६८.९१ प्रतिशतले घट्न पुगेको हो ।

बैंकले प्रकाशन गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३८ करोड नाफा कमाएकाे छ । जबकि अघिल्लो आवमा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएकाे थियो ।

बैंकको ब्याज आम्दानी यथावत रहँदा ब्यार्ज खर्च बढेकाले खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले अघिल्लो आवमा गरेको भन्दा तेब्बर बढी अर्थात् २ अर्ब ८४ करोड रुपैयाँ प्रोभिजन गरेको छ । फलस्वरुप बैंकको सञ्चालन नाफा ५२ प्रतिशतले खस्किएको हो भने खुद नाफा ६९ प्रतिशते कम भएको हो ।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३० करोडले ऋणात्मक छ । जसका कारण बैंक लाभांश बाँड्न नसक्ने भएको छ ।

एनआईसी एशियाले हालसम्म ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप अघिल्लो आवको तुलानामा करिब १४ प्रतिशतले विस्तार हुँदा कर्जा ४ प्रतिशतले बढेको हो । बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड रुपैयाँ छ भने जगेडा कोषमा १७ अर्ब ५५ करोड छ । बैंकको रिजर्भ २३ प्रतिशतले बढेको हो ।

गत आवको अन्त्यसम्म बैंकको प्रतिसेयर आम्दानी ९.२६ रुपैयाँ कायम भएको छ । ईपीएस एक वर्षमा २९.१८ रुपैयाँले घटेको हो । यसैगरी नेटवर्थ प्रतिसेयर २०२.२४ रुपैयाँ कायम भएको छ ।

एनआईसी एशिया बैंकको निष्क्रिय कर्जामा भारी वृद्धि आएर ०.८८ प्रतिशतबाट ३.४१ प्रतिशत कायम भएको छ । खुद निष्क्रिय कर्जाको दर १.७४ प्रतिशत छ । बैंकको निष्क्रिय कर्जा र प्रोभिजनको अनुपात ८८.७८ प्रतिशतमा झरेको छ जुन अघिल्लो आवसम्म २४१.८८ प्रतिशत थियो ।

बैंकको सीडी रेसियो ७७.९८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु