माछापुच्छ्रे बैंकको नाफा घट्यो, कति छ लाभांश दिने क्षमता ?



काठमाडौं । गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड १ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २३.०९ प्रतिशतले कम हो ।

अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ६२ करोड ५५ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको ब्याज आम्दानी, खुद ब्याज आम्दानी, सञ्चालन नाफामा गिरावट आउँदा नाफा घटेको छ । बैंकले नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम थोरै घटेको छ ।

बैंकको ब्याज आम्दानी १३.८३ प्रतिशतले घटेर १६ अर्ब ६१ करोड ६९ लाख रहेको छ । खुद ब्याज आम्दानी ६.७६ प्रतिशतले घटेर ५ अर्ब ९० लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा १७.९७ प्रतिशतले घटेर १ अर्ब ९५ करोड २७ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकले छुट्याएको कर्जा नोक्सानी व्यवस्था ६.६१ प्रतिशत घटेर १ अर्ब ७ करोड २३ लाख मात्र प्रोभिजन थप गरेको छ । बैंकको वितरणयोग्य नाफा भने ४६ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । लाभांश क्षमता १४.२१ प्रतिशतबाट घटेर ४.०१ प्रतिशत रहेको छ ।

बैंकले २०८१ असार मसान्तसम्म १ खर्ब ५७ अर्ब ९४ करोड १८ रुपैयाँ बराबरको निक्षेप परिचालन गरेर १ खर्ब २७ अर्ब १० करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ११ अर्ब ६२ करोड १३ लाख र जगेडा कोषमा १७ अर्ब २९ करोड ४३ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १०.७६ रुपैयाँ, नेटवर्थ १४८.८ रुपैयाँ र पीई रेसियो १८.५९ प्रतिशत छ ।

यस अवधिमा बैंकको निष्क्रिय कर्जा २.२६ प्रतिशतबाट बढेर ३.६३ प्रतिशत कायम भएको छ भने खुद निष्क्रिय कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ । बैंकले गरेको कुल प्रोभिजन निष्क्रिय कर्जाको अनुपातमा १००.२० प्रतिशत छ जुन अघिल्लो आवको अन्त्यसम्म १२७.१७ प्रतिशतमात्र थियो । बैंकको निक्षेप कर्जा अनुपात ८३.३२ प्रतिशत रहेको छ ।


क्लिकमान्डु