इन्भेस्टमेन्ट मेगाको नाफा ४० प्रतिशतले बढेपनि लाभांश बाँड्न नसक्ने



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३९.७१ प्रतिशतले बढेको छ । अपरिस्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ नाफा गरेको हो । यो नाफा अघिल्लो आवमा गरेको ३ अर्ब ७२ करोडभन्दा १ अर्ब ४७ करोड बढी हो ।

बैंकको खुद ब्याज आम्दानीमा उच्च वृद्धि हुँदा नाफामा निकै सुधार आएको देखिन्छ । निष्क्रिय कर्जा बढेकाले नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकममा पनि उल्लेख्य सामान्य बढेपनि बैंकको नाफा बढेको हो ।

बैंकले प्रकाशन गरको वित्तीय विवरणअनुसार ब्याज आम्दानी २२.६ प्रतिशतले बढेर ४३ अर्ब ६ करोड र खुद ब्याज आम्दानी २२.०१ प्रतिशतले वृद्धि भइ १५ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । यस अवधिमा बैंकले अघिल्लो आव छुट्याएको नोक्सानी व्यवस्थाभन्दा ०.१७ प्रतिशत बढी अर्थात् ३ अर्ब २१ करोड प्रोभिजन गरेको छ । बैंकको सञ्चालन नाफा २१.६२ प्रतिशतले बढेर ८ अर्ब ७ करोड पुगेको छ ।

नाफामा भारी वृद्धि भएपनि बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । वक्यौता ब्याज बढ्दा १ अर्ब ८० करोड रुपैयाँ नियमनकारी कोषमा छुट्याउनुपरेको छ । यस्तै गैरबैंकिङ सम्पत्तिका लागि गरेको प्रोभिजन १ अर्ब १७ करोड थप गरेको छ ।

गत आव नै ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा गत आवको अन्त्यसम्म पनि ऋणात्मक नै रहेको हो ।

बैंकले २०८१ असार मसान्तसम्म ७ खर्ब ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरी ३ खर्ब ७ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ३४ अर्ब १३ करोड र जगेडा कोषमा ३० अर्ब ५७ करोड छ । रिजर्भको रकम २२.५५ प्रतिशतले बढेको हो ।

गत आवको वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १५.२३ रुपैयाँ कायम भएको छ । ईपीएस अघिल्लो आवको तुलनामा १.३१ रुपैयाँले बढ्दा नेटवर्थ १७ रुपैयाँले सुधारिएर १८० रुपैयाँ र पीई रेसियो ११.५ कायम भएको छ ।

यस अवधिमा नेपाल इन्भेस्टमेन्ट मेगाको निष्क्रिय कर्जा ४.५४ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत कायम भएको छ । खुद निष्क्रिय कर्जा भने १.६६ प्रतिशतमात्र छ । बैंकले गरेको कुल प्रोभिजन निष्क्रिय कर्जाको अनुपातमा ११७.४१ प्रतिशत छ जुन अघिल्लो आवको अन्त्यसम्म १०८.८ प्रतिशतमात्र थियो । बैंकको निक्षेप कर्जा अनुपात ७९.२२ प्रतिशत रहेको छ ।


क्लिकमान्डु