ब्याज आम्दानीमा कमी र प्रोभिजन वृद्धिले घट्यो सानिमा बैंकको नाफा, लाभांश क्षमता कति ?



काठमाडौं । सानिमा बैंकको नाफा ८.५९ प्रतिशतले घटेको छ । ब्याज आम्दानीमा कमी र नोक्सानी व्यवस्थामा वृद्धिका कारण आव २०८०/८१ मा बैंकको नाफा घटेको हो ।

अघिल्लो आव २ अर्ब ६० करोड खुद नाफा गरेको बैंकले गत आव २ अर्ब ३८ करोडमात्र नाफा कमाउन सफल भएको हो ।
बैंकको ब्याज आम्दानीमा ४.१० प्रतिशतको गिरावट आइ २० अर्ब ७२ करोडमा सिमित भएको छ भने खुद ब्याज आम्दानी ४.६४ प्रतिशतले घटेर ६ अर्ब १७ करोड कायम भएको छ । यस अवधिमा बैंकले नोक्सानी व्यवस्थावापत १ अर्ब ४९ करोड रुपैयाँ प्रोभिजन गरेको छ जुन अघिल्लो आवको भन्दा ४१.९० प्रतिशतले वृद्धि भएको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड रुपैयाँ हो जसका आधारमा बैंकको लाभांश क्षमता १०.४ प्रतिशत हुन आउँछ ।
एक वर्षको अवधिमा सानिमा बैंकको निक्षेप १२.२१ प्रतिशतले बढेर १ खर्ब ९७ अर्ब २० करोड पुगेको छ भने बैंकले १ वर्षमा कर्जा ९.६७ प्रतिशतले बढेर १ खर्ब ५९ ४९ करोड रुपैयाँ कायम भएको छ ।

बैंकको चुक्तापुँजी १३ अर्ब ५८ करोड छ भने रिजर्भमा ५ अर्ब ९७ करोड छ जुन अघिल्लो आवको भन्दा २६.९० प्रतिशतले बढेको हो ।

सानिमाको नाफा घट्दा प्रतिसेयर आम्दानी ३.३७ रुपैयाँले घटेर १७.५४ रुपैयाँ कायम भएको छ । यस्तै नेटवर्थ १५४.३५ रुपैयाँ र पीई रेसियो १५.९१ रहेको छ ।

बैंकले निष्क्रिय कर्जामा उल्लेख्य सुधार गरी १.७३ प्रतिशतमा सिमित राखेको छ । यस्तै खुद निष्क्रिय कर्जा ०.५१ प्रतिशतमात्र छ । सानिमा बैंकले नोक्सानी वापतको प्रोभिजन निष्क्रिय कर्जाको तुलनामा १६७ प्रतिशत कायम गरेको छ भने सीडी रेसियो ८०.५३ प्रतिशत छ ।


क्लिकमान्डु