यी हुन् अर्थतन्त्रसँगै कछुवाको चालमा बिजनेस विस्तार गर्ने ८ बैंक!



काठमाडौं । अर्थतन्त्रमा छाएको सुस्तताको छायाँ ८ वाणिज्य बैंकको बिजनेसमा देखिएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ बैंक कर्जा प्रवाह र निक्षेप संकलन दुवैमा कमजोर देखिएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार निक्षेप र कर्जा विस्तारमा पछि परेका बैंकहरुमध्ये ४ बैंक पुँजीको सकसका कारण घस्रनु परेको देखिएको छ । बाँकी ४ बैंकले नगन्य व्यवसाय विस्तार गरेको देखिन्छ ।

८ मध्ये २ बैंकले कर्जा घटाएका छन् भने एउटाले निक्षेप कम गरेको छ ।

बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्ने पूर्वसन्ध्यामा प्राप्त तथ्यांक अनुसार सुस्त ८ बैंक हुन्, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, लक्ष्मी सनराइज, कुमारी, हिमालयन, माछापुच्छ्रे, एनएमबि र सिद्धार्थ ।

यी मध्ये प्रभु, माछापुच्छ्रे, कुमारी र हिमालयन बैंक पुँजीको चरम सकस बेहोरेका बैंक हुन् । स्ट्यान्डर्ड र प्रभुले त अघिल्लो आवको भन्दा कर्जा झन् घटाएका हुन् ।

कर्जा विस्तारतर्फ कसको स्थिति के ?
यी ८ बैंकको कर्जाको वृद्धिदर मात्रै १.१९ प्रतिशत छ । वाणिज्य बैंकहरुको औसत कर्जा वृद्धिदर ५.८६ प्रतिशत रहेकामा यी बैंकको करिब एक तिहाइ गतिले सुस्त देखिएका हुन् ।

गत आवमा राष्ट्र बैंकले कर्जा विस्तार ११.५ प्रतिशतले गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्यअनुसार यी ८ वटै बैंकले रफ्तार बढाउन सकेका देखिँदैनन् ।

बाँकी १२ बैंकको कर्जा वृद्धिदर ८.७३ प्रतिशत छ ।

दुई बैंकले कर्जा घटाउँदा लक्ष्मी सनराइज बाँकीको कर्जा सामान्य दरले बढेको छ ।

स्टयान्डर्डको कर्जा ९५ अर्बबाट ५.६३ प्रतिशत अर्थात् ५ अर्बले घटेर ९० अर्ब रुपैयाँ कायम भएको छ । यस्तै प्रभुको कर्जा २ खर्ब ४२ अर्बबाट २.५६ प्रतिशत घटेको छ । बैंकले कर्जा ६ अर्बले कम गरी २ खर्ब ३६ अर्ब कायम गरेको हो ।

तथ्यांकअनुसार चार्र्टर्ड सबैभन्दा कम कर्जा प्रवाह गर्ने बैंक हो ।

रकमका आधारमा सबैभन्दा कम कर्जा बढाउने बैंक लक्ष्मी सनराइज हो ।

निक्षेपतर्फ कसको पर्फमेन्स कस्तो ?
यी ८ बैंकको निक्षेपतर्फको स्थिति पनि चित्तबुझ्दो छैन । वाणिज्य बैंकको औसत निक्षेप वृद्धिदर १३.१५ प्रतिशत हुँदा यी ८ बैंकमा रहेको निक्षेप मात्रै ६.१९ प्रतिशत छ । जबकि बाँकी बैंकले आफ्नो निक्षेप औसतमा १६.६९ प्रतिशतले बढाएका छन् ।

यी ८ मध्ये चार्टर्डले अघिल्लो आवभन्दा निक्षेप कम गरेको छ । बैंकको निक्षेप करिब ८ अर्बले घटेर १ खर्ब १५ अर्ब कायम भएको छ । अघिल्लो आवको अन्त्यमा १ खर्ब २३ अर्ब रहको बैंकको निक्षेप ८ अर्बले कम भएको हो ।

एक वर्षमा सबैभन्दा कम निक्षेप थप गर्ने बैंक माछापुच्छ्रे हो । बैंकले एक वर्षको अवधिमा निक्षेप ३ अर्बले थपेर १ खर्ब ६१ अर्ब रुपैयाँ कायम भएको छ ।

१ खर्ब ५८ अर्ब रहेको बैंकको निक्षेप १ वर्षको अवधिमा १.९३ प्रतिशतले विस्तार भएको हो ।


क्लिकमान्डु