बैंकमा तरलता फालाफाल, सीडी रेसियो ६१ प्रतिशतसम्म झर्‍यो (कुन बैंकको कति ?)



काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९ प्रतिशत कायम भएको छ । बैंकहरुले संकलन गरेको निक्षेपबाट ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने भएपनि असार मसान्तको तथ्यांकले उनीहरुसँग अथाह लगानीयोग्य रकम भएको देखिएको हो ।

असार मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले कुल ५७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ४५ खर्ब ७१ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । उनीहरुको सीडी रेसियो ७८.८८ प्रतिशत मात्र छ ।

गत आवको अन्त्यमा ११ बैंकको सीडी रेसियो ८० प्रतिशतभन्दा कम छ भने बाँकीको ८० देखि ९० प्रतिशतको बीचमा छ । सीडी रेसियो सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको ८६.२ प्रतिशत र सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको ६०.७७ प्रतिशतमात्र छ । राष्ट्रिय वाणिज्य ७० प्रतिशतभन्दा कम सीडी हुने एकमात्र बैंक हो भने प्राइम ८५ प्रतिशतभन्दा बढी हुने एकमात्र बैंक हो ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले साबिकको ८५ प्रतिशत सीसीडी रेसियो खारेज गरी सीडी रेसियो लागु गरेको थियो । अर्थात् बैंकरुले १०० रुपैयाँ निक्षेप संकलन गर्छन् भने ९० रुपैयाँ कर्जा लगानी गर्न पाउँछन् । सो आर्थिक वर्ष सबैजसो बैंकको सीडी अनुपात ९० प्रतिशत रहेकामा अहिले बहुमत बैंकको यस्तो अनुपात ८० प्रतिशतभन्दा कम छ ।

सीडी रेसियो निकै तल हुनुले बैंकहरुसँग कर्जा प्रवाह गर्न पर्याप्त तरलता रहेको अर्थ दिन्छ । मानौ, क नाम गरेको बैंकसँग कुल निक्षेप ३ खर्ब छ र सो बैंकले २ खर्ब १० अर्ब रुपैयाँको कर्जा प्रवाह गरेको छ भने सो बैंकको सीडी रेसियो ७१ प्रतिशत हुन आउँछ । राष्ट्र बैंकको व्यवस्थाअनुसार सो बैंकले ९० प्रतिशत अर्थात् २ खर्ब ७० अर्ब रुपैयाँसम्म कर्जा दिन सक्छ । अर्थात् उससँग अझै ६० अर्बको कर्जा प्रवाह गर्न सक्ने स्पेस छ ।

बैंकहरुको न्युन सीडी रेसियोले उनीहरुसँग कर्जा प्रवाह गर्ने पर्याप्त स्पेस रहेको देखाए पनि उनीहरुको पुँजी पर्याप्त नभएका कारण कर्जा दिने क्षमता पनि कम छ । बैंकहरुले कर्जा दिने क्षमता ३ विषयमा निर्भर रहन्छ, सीडी रेसियो, एलडी रेसियो र पुँजीकोष अनुपात । सीडी र एलडी पर्याप्त रहेपनि पुँजीकोषमा दबाब रहेका कारण अहिले बैंकहरु तरलता फालाफला भएपनि कर्जा प्रवाह गर्न सकिरहेका छैन ।

सीडी रेसियो गणना गर्दा निक्षेप भन्नाले निक्षेपमा पर्दैनन् । निक्षेपमा पुँजी कोष र पुँजी कोषको अंगको रुपमा रहेका ऋणपत्र बाहेकका ऋणपत्र, १ वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रामा लिएको ऋण तथा राष्ट्र बैंकबाट प्रदान गरिएको पुनर्कर्जा रकम जोडिन्छ । यीनको जोड र प्रवाह गरेको कर्जाको अनुपात नै सीडी रेसियो हो । कर्जा–निक्षेप अनुपात गणना गर्दा अन्तरबैंक निक्षेपलाई समावेश गर्न पाइँदैन ।


क्लिकमान्डु