हेलिकप्टरको भाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)



काठमाडौं । हेलिकप्टर कम्पनीहरुले हेलिकप्टर चार्टर गर्दा लिने भाडा बढाएका छन् । आगामी अक्टोबर १ बाट लागू हुने गरी हेलिकप्टर कम्पनीहरुले भाडा बढाउने सहमति गरेका हुन् ।

हेलिकप्टर कम्पनीहरु एयर डाइनेष्टी, अल्टिट्युड, फिस्टेल, हेलि एयरभेष्ट, कैलास, मनाङ, प्रभु, श्री र सिम्रिक एयरका प्रतिनिधिले गत जेठ २१ गते गरेको सहमतिअनुसार काठमाडौंबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडा वृद्धि हुने भएको हो ।

हेलिकप्टर कम्पनीकाअनुसार एभरेष्ट क्षेत्र अन्तर्गतमा एक सयदेखि २ सय डलरसम्मले हेलिकप्टर भाडा वृद्धि भएको छ । यस्तो भाडादर एभरेष्ट क्षेत्रको क्याम्प १ देखि ३ सम्म जानुपरेको अवस्थामा २ सय डलरसम्मले हालको शुल्कमा बढी भाडा लिने सहमति कम्पनीहरुबीच भएको हो ।

एभरेष्ट क्षेत्रकै अन्य गन्तव्यमा भने एक सय डलरका दरले हेलिकप्टर चार्टर भाडा बढेको छ ।

यस्तो भाडादर अनुसार लुक्ला जान १ सय डलर भाडा वृद्धि हुने भएको हो । यो गन्तव्यमा जान अब २८ सयदेखि ३ हजार अमेरिकी डलर लाग्ने छ । अहिले लुक्लाको हेलिकप्टर चार्टर भाडा २७ सय देखि २९ सय डलरसम्म छ ।

फाप्लु जान पनि १ सय डलर भाडा वृद्धि भएको छ । यो गन्तव्यमा जान २९ सयदेखि ३१ सय डलरसम्म लाग्ने छ ।

नाम्चे जान ३ हजारदेखि ३१ सय डलर भाडा लाग्ने भएको छ । यो गन्तव्यको भाडा पनि १ सय डलरले बढेको हो ।

हेलिकप्टर कम्पनीले तय गरेको नयाँ भाडादर अनुसार एभरेष्ट क्षेत्रको लुबुचे जान भने हालको ३५ सय डलरलाई बढाएर ३६ सयदेखि ३९ सय डलरसम्म पुर्‍याइएको छ ।

एभरेष्ट बेसक्याम्पमा १ सय, क्याम्प १ र क्याम्प २ मा पुग्ने भाडा पनि सय डलर बढेको छ ।

डलर पनि एक सय डलर नै बढेको छ । हाल क्याम्प १ मा जान ७३ सय डलर शुल्क हेलिकप्टरले लिने गरेका छन् ।

हेलिकप्टर कम्पनीहरुले मकालु तथा कन्चनजंघा क्षेत्रमा जाने हेलिको भाडामा ४ सय डलरको वृद्धि गरेका छन् । हाल मकालु बेसक्याम्प जान लाग्ने ४६ सय डलरलाई बढाएर ५ हजार डलर पुर्‍याइएको छ ।

याङ्ला क्षेत्रमा जान ४२ सयबाट ४५ सय डलर भाडा तिर्नुपर्ने भएको छ । बरुन्से बेसक्याम्पमा जान ४६ सयबाट भाडा बढेर ५ हजार डलर पुगेको छ ।

ताप्लेजुङको सुकेटार जाने हेलिको भाडा ४ हजारबाट बढाएर ४५ सय डलर पुर्‍याइएको छ ।

यो क्षेत्रमा जान प्रतिउडानमै ५ सय डलर बढेको छ । मकालु क्षेत्रको छेरम जाने भाडा ५३ सयबाट ५८ सय पुगेको छ ।

रोल्वालिङ क्षेत्रमा भने एक सय डलरले मात्रै हेलिकप्टर भाडा वृद्धि भएको छ । मनास्लु क्षेत्रमा जान पनि प्रतिगन्तव्य २ सय डलरसम्मले हेलिकप्टर चार्टर गर्दा लाग्ने भाडा बढाइएको हेलिकम्पटर कम्पनीहरुले जनाएका छन् ।

हेलिकप्टर कम्पनीहरुले अन्नपूर्ण क्षेत्र अन्तर्गतको कोटो वा चामे जाने हेलिकप्टरको भाडा भने एक सय डलरले घटाएका छन् । यो गन्तव्य जान लाग्ने २८ सय भाडालाई घटाएर २७ सय बनाएको हेलिकप्टर कम्पनीले गरेको एक सहमतिपत्रमा उल्लेख छ । यो क्षेत्रका अन्य गन्तव्यमा भने २ सय डलरसम्मले भाडा वृद्धि भएको छ ।

हेलिकप्टर कम्पनीहरुले डोल्पा क्षेत्रमा पनि ३ सय डलरसम्मले भाडा बढाएका छन् ।

कहाँ पुग्न कति भाडा ?


क्लिकमान्डु