राष्ट्र बैंकले तत्कालै सेयर धितो कर्जाको सीमा हटाएन, आनाकानीको अर्थ के ?



काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई दिइएको २० करोड रूपैयाँक‍ो सीमा हटाउन नेपाल राष्ट्र बैंकले आनाकानी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत गरेको केही उद्घघोष कार्यान्वयनमा ल्याउन बुधबार साँझ बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेपनि संस्थागत सेयर लगानीकर्तालाई लगाएको क्याप हटाउन भने नचाहेको हो ।

केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा व्यक्तिगततर्फ १५ करोडको क्याप यथावत राखी संस्थागततर्फको खारेज गर्ने उद्घोष मौद्रिक नीतिमार्फत गरेको थियो । तर, बुधबार परिपत्र जारी गर्दैगर्दा सो व्यवस्था कार्यान्वयन गर्न आवश्यक नठानेको हो ।

पछिल्लो समय राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको क्याप घटाउने उद्घोष गरेर सेयर बजारप्रति चलिचो देखिएका थिए । राष्ट्र बैंक सेयर बजारप्रति सकारात्मक सन्देशसहित धितोपत्रको दोस्रो बजारमा उत्साह छाएको थियो ।

राष्ट्र बैंकले क्याप हटाएका कारण संस्थागत लगानीकर्ता बैंकबाट ऋण गरेर सेयर खरिद गर्ने अपेक्षासहित पुँजीबजारमा सेयर किन्ने ह्वारह्वार्ति बढेका छन् । तर, राष्ट्र बैंकले अहिले नै खारेज गरिहाल्नु उपयुक्त नठानेर केही समयका लागि होल्ड गरेको हो ।

बुधबार कारबार बन्द हुँदासम्म नेप्से परिसूचकले २७०० अंक पार गरिसकेको छ । हिजोको बजारमा विभिन्न लगानीकर्ताले २१ अर्ब रूपैयाँबराबरको सेयर खरिद गरेका छ्न् ।

बुधबारको परिपत्रका कारण सेयर बजारले कस्तो प्रतिक्रिया देला हेर्न बाँकी छ । यद्यपि मौद्रिक नीतिमार्फत गर्ने उद्घोष आर्थिक वर्षभित्रमा कार्यान्वयन हुने भएकाले राष्ट्र बैंकले कुनैदिन सेयर कर्जाको क्याप हटाउने पक्का छ ।

यो स्थितिमा दुईवटा बुझाई अघि सरेको छ । सीमा नहट्दा सेयर बजारका जानकारहरूबीच तर्क बाझिएको हो । एकाथरी सेयर बजार अति नै बढिसकेका कारण त्यसलाई रोक्न राष्ट्र बैंकले सेयर बजारमा नेगेटिभ मेसेज जाने प्रयास गरेको बताउँछन् ।

अर्काथरी भने एकदिन त सेयर धितोको सीमा हटाउने परिपत्र आउँछ नै भन्ने सेन्टिमेन्टसहित खरिद गर्नेहरू बढिरहने भएकाले सेयर बजार अझै बढाउने प्रयास गरिएको बताउँछन् ।

अहिले नेकपा एमाले सरकारमा छ भने एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री तथा उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री रहेका बेला अहिले सेयर जार निरन्तर बढिरहेको छ । उनीहरू सबै सेयर बजार बढोस्, अन्य क्षेत्रमा चलायमान पनि सेयर बजारले नै ल्याउँछ भन्ने निकर्षमा रहेको कारण पनि अहिले नचलाइएको बताउँछन् ।

सेयर धितो हेरफेर गर्ने राष्ट्र बैंकको नेतृत्वमा एमाले नै नियुक्त गरेका व्यक्ति छन् । गभर्नर अधिकारी एमाले नेतृत्वको सरकारलाई सघाउने गरि बजार थप बढाउने मनसायका साथ अहिले चुप बस्दा ‘एकदिन त सेयर धितोको सीमा हट्छ नै’ भन्ने सेन्टिमेन्ट थप समयका लागि कायम रहनाले बजार थप बढ्ने विश्वास दोस्राथरीले गरेकन छन् ।

केन्द्रीय बैंकले बुधबार परिपत्र गर्दै असल कर्जाको नोक्सानी व्यवस्था कमी, निर्माण व्यवसायीले हर्जनाबिनै कर्जाको किस्ता तिर्ने अवधि, नीतिगत दर कमि, रेगुलेटरी रिटेल पोर्टफोलियो सीमा वृद्धि आदि घोषणा गरेको छ । तर, मार्जिन प्रकृतिको सेयर धितो कर्जामा चुप रहेको हो ।

राष्ट्र बैंकले मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिने उद्घोष गरेको हो ।

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु