बजार अनुगमनपछि व्यापारिक प्रतिष्ठानलाई पौने ४ करोड जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख रुपैयाँ बराबरको जरिवाना गराएको छ ।

अनुगमनको क्रममा कैफियत भेटिएको अवस्थामा ३७ प्रकारका व्यापारिक प्रतिष्ठानबाट ३ करोड ७५ लाख ७८ हजार रुपैयाँ जरिवाना गराइएको हो ।

गत आर्थिक वर्षमा ४ हजार २ सय ६९ पटक अनुगमन गरिएको थियो । अनुगमनको क्रममा १ करोड २६ लाख रुपैयाँ बराबरको गुणस्तरहिन र म्याद नाघेको विभिन्न वस्तु जफत गरी नष्ट समेत गरिएका छन् ।

जरिवानातर्फ सबैभन्दा बढी खाद्य पदार्थ बिक्री बितरण गर्ने २ सय ३४ व्यापारिक प्रतिष्ठानबाट ८६ लाख १५ हजार, १ सय १ रेडिमेड तथा थान कपडा पसलबाट १९ लाख २२ हजार, अन्य पसलबाट ४१ लाख ३५ हजार, किराना पसलबाट १५ लाख ४५ हजार, होटेल तथा रेष्टुँराबाट ७३ लाख ९० हजार, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलबाट ८ लाख ६१ हजार, तरकारी पसलबाट ५ लाख ३० हजार, मार्ट तथा मिनी मार्टबाट १५ लाख र फर्निचरबाट ४ लाख ७५ हजार रुपैयाँ जरिवाना गराइएको छ ।

यस्तै हार्डवेयरबाट ७ लाख ४० हजार, मिठाई पसलबाट ११ लाख ७० हजार, डेरी उद्योगबाट १५ लाख र मदिरा तथा सूर्तिजन्य पसलबाट १४ लाख ५० हजार रुपैयाँ जरिवाना गराइएको छ ।


क्लिकमान्डु