‘सहकारीको नियमन नगरे संस्था बन्द गर्नुपर्ने अवस्था आउन सक्छ’



काठमाडौं । सहकारी संस्थाहरुको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिमा नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउनसक्ने सरोकारवालाले बताएका हुन् ।

छलफलबारे जानकारी दिँदै सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्थाहरुको आवश्यक नियमन नहुँदा सहकारीमा वचत दुरुपयोग भएको सरोकारवाला निकायहरुले बताएको जानकारी गराए । बैठकमा सहकारी क्षेत्रको लेखापरीक्षणको क्रममा देखिएका समस्या, वचत दुरुपयोग र ठगीको बारेमा लेखापरीक्षण र लेखापरीक्षकको भुमिकाका बारेमा कानूनी प्रवन्ध र गर्नुपर्ने सुधारको विषयमा छलफल भएको संयोजक थापाले बताए ।

सहकारीको चार्टर्ड एकाउन्टेन्टले लेखापरीक्षण गर्ने तर हस्ताक्षर रजिस्टर्ड लेखापरीक्षकले गर्दा हस्ताक्षरकर्तालाई लेखापरीक्षणको अवस्था थाहा नहुने र लेखापरीक्षण गर्नेको हस्ताक्षर नहुने बेथिति अन्त्य गर्न पनि जोड दिइएको बताए ।

उनले सहकारी क्षेत्रमा रहेका विद्यमान समस्या समाधानका लागि सहकारी संस्था, शेयर सदस्य, पदाधिकारी, व्यवस्थापक, लेखा परीक्षकले विशेष ध्यान दिनुपर्ने बताए ।

सभापति थापाले भने, ‘नियमन राम्रो नगर्ने हो भने सहकारी नै बन्द गर्नुपर्छ भनेर केही साथीहरुले भन्नुभएको छ । नियमन नहुँदा नै सहकारीमा वचत दुरुपयोग भएको अवस्था सिर्जना भएको कुरा राख्नुभयो । व्यक्ति भन्दा प्रवृत्तिमा समस्या छ । पद्धतिमा समस्या छ । सहकारीमा सिए, आरएहरुलाई सकेसम्म अडिट गर्न नपरे हुन्थ्यो भन्ने किसिमको मानसिकता छ भन्ने कुरा राख्नुभयो । सिएहरुमा अडिटको काम गर्ने र आरएहरुले हस्ताक्षर गर्ने । जसले लेखा परीक्षण गर्छ उसको हस्ताक्षर नुहने, जसले हस्ताक्षर गरेको हुन्छ, उसले लेखा परीक्षण नगर्ने खालका समस्या छन् । यि समस्यालाई कसरी समाधान गर्ने रु कसरी यो क्षेत्रलाई व्यवस्थित गर्ने रु ऐन, कानूनको अधिनमा रही गरेको काम अन्यथा हुँदैन, ऐन, कानून विपरितका कुनै काम भएका भए नियामक संस्थाका रुपमा आइक्यानले आफ्ना सदस्यहरुलाई पनि अनुशासन, आचारसंहीता भित्र राख्नुपर्छ भन्नेकुरा भएका छन् । लेखा परीक्षणको क्षेत्रमा रहेका विद्यमान समस्याका बारेमा सहकारी संस्थाहरु आफैँ, शेयर सदस्यहरु, पदाधिकारी, व्यवस्थापकले, लेखा परीक्षकले केके कुरामा ध्यान दिने रु संस्थाले आन्तरिक रुपमा के ध्यान दिने ? आन्त्रिक लेखा परीक्षण र एकाउण्टिङको आधारमा लेखा परीक्षण गर्नुपर्छ भन्ने सन्दर्भमा छलफल भएको छ । हामीले सहकारी क्षेत्रको अडिट गरेका, लेखा परीक्षण गरेका चार्टर एकाण्टेनहरुलाई व्यवस्थित र लिखित रुपमा सुझाव दिन उहाँहरुलाई आग्रह गरेका छौँ ।’


क्लिकमान्डु