सांसद चौधरीको प्रश्‍न: जनता अन्धकारमा बस्‍नुपर्ने, डेढ अर्ब नतिर्ने उद्योगीले रजगज चलाउने ?



काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले विद्युतको पैसा नतिर्ने उद्योगीहरुले राज्यमा रजगज चलाइरहेको भन्दै सरकारले व्यवसायीबाट भुक्तानी लिन नसकेकोमा आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले जनताहरु एक हजार रुपैयाँ नभएर अन्धकारमा बस्नुपरेको तर विद्युतको १ अर्ब ६० करोड रुपैयाँ नतिर्नेहरुको रजगज चलिरहेको बताए । उनले ठूला व्यापारीहरुलाई सरकारले सदासयता देखाएको भन्दै यो कस्तो सुशासन हो भनी प्रश्न गरेका थिए । उनले ठूलालाई ऐन सानालाई चैन भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘एक हजार रुपैयाँ नभएर जनताहरु अन्धकारमा बस्नु परिरहेको छ । तर १ अर्ब ६० करोड पैसा नतिर्नेको राज्यमा रजगज चलिरहनुपर्ने । यो कस्तो सुशासन हो ? कानून सबैलाई बराबर हो । तर यहाँ ठूला व्यापारीलाई सदासयता देखाउने । गरिब जनतालाई सूचना समेत नदिइकन लाइन काट्ने । यो त ठूलालाई चैन सानालाई ऐन भएन र ?’ सांसद चौधरीले भने ।

यस्तै उनले घाटाका परियोजना किन छनोटमा परिरहेका छन् भन्दै प्रश्न गरेका थिए । साथै यस्ता परियोजनाहरु छनोट गर्ने प्रधानमन्त्री, मन्त्री र सांसदहरु र अन्य व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको माग थियो ।

सांसद चौधरीले भने, ‘यदि यसो गरिएन भने निरन्तर कमिसनका लागि सेटिङ गरेर नोक्शानीका परियोजनाहरु छनोट भइरहन्छ ।’ प्रमुख सचेतक चौधरीले देशमा सधैँभरी घाटाका परियोजनाहरु ल्याउने गरिएको भन्दै यसो गर्नु राष्ट्रहित विपरीतको कुरा भएको बताएका थिए ।


क्लिकमान्डु